फेसवुकमा अम्पायरको इज्जत उछालेपछि कारवाहीमा परे सन्दीप लामिछाने

काठमाडौँ– सामाजिक सञ्जालमा भावुक स््टयाटस लेखेर चर्चामा रहेका राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई स्ट्याटसकै कारण नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गर्ने निर्णय गरेको छ।
फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेर क्यानको आचारसंहिता उलंघन गरेको भन्दै उनलाई कारवाहीको निर्णय भएको हो। क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिँदै आफुले आयोजना गर्ने प्रतियोगितामा एक खेल खेल्नबाट प्रतिबन्ध लगाएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आचारसंहिताको २.७ नम्वरको प्रावधान उल्लङ्घन गरेको पाइएकाले म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो। क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन्।
सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए। जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका सन्दीपले २५ पुसमा जनकपुरमा त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको विषयमा अम्पायरले गलत निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।
खेलमा बागमतीका शुभ कंसाकार आउट भएलगत्तै अम्पायर विनयकुमार झा र हिरालाल राउतले दिनको खेल सकिएको घोषणा गरेको विषयमा सन्दीपले आपत्ति जनाएका थिए। उनको अम्पायरहरूसँग वादविवाद पनि भएको थियो।
सन्दीपले गत जेठमा उच्च अदालत पाटनबाट बलात्कार कसुरमा सफाइ पाएका थिए। त्यसअघि २०८० को पुसमा भने जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।
उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेटमा आफ्नो पुरानो लय फर्काउने कोसिसमा रहेका सन्दीपले मैदानमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्।