सैफ अलि खानमाथि आक्रमण भएको विषयमा श्रीमती करिना कपूर के भन्छिन् ?

काठमाडौँ– बलिउड अभिनेता सैफ अलि खानमाथि बिहीबार बिहानै भएको आक्रमणपछि उनकी पत्नी, अभिनेत्री करिना कपूर खानले पहिलो पटक मुख खोलेकी छिन्। उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै घटनाबारे आफ्नो प्रतिक्रिया जनाएकी हुन।

करिनाले इन्स्टाग्राममा सञ्चारमाध्यमलाई अनुमान र अफवाहबाट टाढा रहन आग्रह गर्दै लेखेकी छिन्, ‘यो हाम्रो परिवारका लागि एक अत्यन्त चुनौतीपूर्ण दिन रह्यो। र, हामी अझै पनि भएका घटनाहरू बुझ्ने प्रयास गरिरहेका छौं। यो कठिन समयमा म सम्मानपूर्वक र नम्रतापूर्वक सञ्चारमाध्यम र फोटोग्राफरहरूलाई निरन्तर समाचार र अड्कलबाजी नगर्न आग्रह गर्छु।’

उनले लगातार निगरानी गर्ने काम वन्द गर्न पनि आग्रह गरेकी छिन्। ‘हामी तपाईंको चिन्ता र समर्थनको प्रशंसा गर्छौं। तर, यो लगातार निगरानी र ध्यानले हाम्रो मानसिक थकान मात्र बढाउँदैन, हाम्रो सुरक्षामा पनि ठूलो जोखिम सिर्जना गर्छ’ उनले भनेकी छिन्–‘म तपाईंहरूलाई आग्रह गर्छु कि तपाईं हाम्रो सीमाको सम्मान गर्नुहोस् र हामीलाई परिवारका रूपमा यो समयलाई स्वीकार गर्ने र सम्हाल्ने स्थान दिनुहोस्। म यस संवेदनशील समयमा तपाईंको बुझाइ र सहयोगका लागि अग्रिम धन्यवाद दिन चाहन्छु।’

भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार बिहान चोरीको उद्देश्यले मुम्बईको बान्द्रास्थित घरमा पसेका एक व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा अभिनेता सैफ अलि खान घाईते भएका छन्। उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ। त्यहाँ उनको शल्यक्रिया सम्पन्न भएको छ।

चक्कु प्रहारबाट उनको शरीरमा ६ ठाउँमा चोट लागेको छ भने २ वटा गहिरा छन्। सैफको कम्मरको हड्डीबाट करिब तीन इन्च लामो धारिलो वस्तुको टुक्रा निकालिएको छ। प्रहरीले घटनाको छानबिन गरिरहेको जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट