जातीय मुक्ति आन्दोलनको चरित्रलाई बुर्जुवाकरण गरेर शोषणको स्वरुप र शोषक त फेरिएला तर मुक्ति पाइन्न

तराइ, मधेसका जनताहरु प्रति हुने भेदभाव, दमन र राजनीतिक अधिकारको विषयलाई केन्द्र बिन्दुमा राखेर कपिलवस्तु, तौलिहवा, नवलपरासीका माक्र्सवादी युवाहरु (रघुनाथ राय, रामजी मिश्रा, सत्यमणी त्रिपाठी, बिश्वनाथ त्रिपाठी लगायतका) ले बिक्रम सम्वत ०१८/०१९ सालतिर तराई लिबरेसन फ्रन्ट खोलेका थिए।
मधेसमा बर्गिय मुक्ति आन्दोलनको नेतृत्वमा जातीय मुक्ति आन्दोलनलाई अघि बढाउने तत्कालिन समयको यय ऐतिहाँसिक पहलकदमीलाई तत्कालीन समयको कम्युनिस्ट पार्टीहरुले गम्भीरता पुर्वक लिएनन्। पञ्चायती सरकारले तराई लिबरेसन फ्रन्टलाई अपराधिक संगठनकि रूपमा प्रस्तुत गरेर यस संगठनका प्रमुख नेताहरु मध्ये एक रामजी मिश्रालाई कुख्यात डाँका भनेर हत्या गर्यो। तर प्रशिद्ध भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले उनलाइ पश्चिमी तराईमा जनताको मुक्तिको निम्ति संघर्ष गर्ने नेताको रूपमा प्रस्तुत गर्यो।
त्यस्तै वि.सं. ०२५ सालतिर अर्को महत्वपूर्ण नेता रघुनाथ रायको हत्या गरियो। दिल्लीबाट प्रकाशित स्टेटसम्यान पत्रिकाका अनुसार रघुनाथ रायलाई सीमा क्षेत्र नौतनवाबाट अपहरण गरेर नेपाली क्षेत्रमा ल्याएर शाही नेपाली सेनाले हत्या गरेको थियो। त्यसै वर्ष सत्यमणी त्रिपाठीको पनि शाही फौजले हत्या गर्यो। ०२६ सालतिर मध्यतराईमा पञ्चायत बिरोधी हिंसामा यस संगठनले पुष्पलाललाई सघाएको बताइन्छ। हिंसा रोकिएपछि तत्कालीन प्रधानमन्त्री नागेन्द्रप्रसाद रिजालले त्यस क्षेत्रमा भ्रमण गरेका बेला भारतीय सीमा क्षेत्रमा नेपाल बिरोधी सशस्त्र समुहहरु सक्रिय रहेको र भारतीय अधिकारीहरूले तीनलाई नियन्त्रण गर्न नसकेको आरोप लगाएका थिए।
उनले उग्रवामपन्थी क्रान्तिकारी बिचारको आधारमा सञ्चालित समुहहरुमा सुदुरपश्चिम सीमा क्षेत्र कैलाली जिल्ला नजिकको भारतीय सीमा क्षेत्रमा विश्वनाथ त्रिपाठीको नेतृत्वमा रहेको ४०–५० जनाको सशस्त्र समुहको नामै किटानै गरि भनेका थिए– मधेसमा भएको वामचरित्रको यस जातिय मुक्ति आन्दोलनलाई नेपालको कम्युनिस्ट आन्दोलनले त्यतिबेला नै समाहित गर्न सकेको भए आज मधेस मुक्तिको आन्दोलनको मुलचरित्र सर्वहारा वर्गीय हुन्थ्यो।
किसान आन्दोलनको तुफानी केन्द्र रहेको मधेसमा यो संगठन झांगिन नसक्नु र दमनको शिकार हुनु तथा तत्कालीन कम्युनिस्ट पार्टीहरुमा रहेको पहाडिया नेतृत्वहरुले मधेसी माथिको दमन, उत्पीडन र विभेदप्रति गम्भीर नहुनु दुर्भाग्यपूर्ण रह्यो। शैद्धान्तिक रूपमा स्वीकार नगरेपनि ब्यबहारिक रूपमा पञ्चायती शासकहरुले फैलाएको संकिर्ण राष्ट्रवादको प्रभावबाट नेपालको कम्युनिस्ट आन्दोलन पनि प्रभावित रहेको देखिन्छ। मधेसको कुरा गर्नेहरुलाई भारतीय देख्नु, ‘रअ’ को एजेन्टको आरोप लगाइ दिनु, नेतृत्व तहमा विकास गर्न आनाकानी गर्नु, यहाँसम्म कि सबै खाले उत्पीडनको विरुद्धमा लडने कम्युनिस्ट पार्टीले नेपाली कांग्रेस जस्तो बुर्जुवा र दलाल पूँजीवादी पार्टीको जत्तिको पनि नेतृत्व तहमा विकास गर्न नसक्नु दुर्भाग्यपूर्ण छ।
वास्तवमा नेपालको इतिहासमा नै नेकपा (माओवादी)ले महान जनयुद्धको तयारीदेखि नै जातिय र क्षेत्रीय उत्पीडनबारेमा शैद्धान्तिक स्तरमा गम्भिरताका साथ लिएको देखिन्छ। नेपालको राजनीतिक इतिहासमा नै पहिलोपटक माओवादीले आत्मनिर्णयको अधिकार, स्वशासन, क्षतिपूर्ति सहितको अग्राधिकार जस्तो अत्यन्तै महत्पूर्ण मुद्दा आफ्नो दस्तावेजमा राखेर व्यबहारमै जनयुद्धको क्रममा स्वायत्त सरकारहरु गठन गरेर युगान्तकारी शिक्षा दिएको छ। नेपालको इतिहासमा अन्य कम्युनिस्ट पार्टीहरु भन्दा भिन्न, बुर्जुवा पार्टीहरुको देखाउने दाँत र चपाउने दाँतभन्दा धेरै फरक अत्यन्तै साहासिक ढंगले इतिहासको सम्पुर्ण बर्गीय र जातीय मुक्ति आन्दोलनको कडीलाई जोडेर अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलनले आन्तरिक राष्ट्रिय उत्पीडनलाई हल गर्ने बैचारिक र ब्यबहारिक मुद्दा स्थापित गर्न सफल भएको छ।
जनयुद्ध कालमै पहाडिया उच्च खस जातीय अहंकारवादको विरुद्धको साथसाथै पहाडका उत्पीडित जातिहरुमा रहेको संकीर्ण राष्ट्रवादले मधेसीलाई हेप्ने गरेको विषयलाई समेत ध्यानमा राख्दै पहाडिया अहंकारवादका विरुद्धमा संघर्ष गर्न राजनैतिक, बैचारिक र सांगठनिक रूपमा मधेसलाई तयार पार्न खेलेको युगान्तकारी, ऐतिहासिक भुमिका अत्यन्तै विशिष्ठ र अनुकरणीय खालको छ।
जातीय अधिकारको आन्दोलनहरु वर्ग संघर्षमा श्रमजीवी वर्गको पक्षसँग आफुलाइ एकाकार गर्नुपर्छ। मधेस मुक्ति आन्दोलनलाई किसान मजदुरको आन्दोलनसँग जोडनु पर्छ। मधेस भित्र रहेको जातीय विभेद, स्थानीय जातीय अहंकारवाद को विरुद्धमा मधेसको मुक्ति चाहनेहरु सबैले बोल्नुपर्छ। मधेस मुक्ति आन्दोलनलाई मधेस भित्रै अमुक जातको विरुद्धमा अमुक जातहरुको गठबन्धन गरेर सत्ताको भर्याङ बनाउने राजनीतिक धुर्तहरुको योजना बिफल पार्न सक्नुपर्छ। मधेसी जनता आज पनि आन्तरिक उपनिवेशीकरणको पिडा बाट गुज्रिरहेको छ।
आजको पूँजीवादले अन्ध जातिवाद, अन्ध धार्मिकतासँग, सत्तासिन जातीय अहंकारवादसँग गठजोड गरेर जसरी संसार भरी आएको छ, त्यसबाट नेपाल अछुतो रहने कुरै छैन। यसबेला जातीय मुक्ति आन्दोलनको चरित्र बुर्जुवाकरण गरेर सफल हुन सक्दैन। यसले शोषणको स्वरुप र शोषणलाई निरन्तरता दिने पात्र त फेर्ला तर सम्पुर्ण रूपमा मुक्ति पाइन्न।
नेपालका शासकहरुलाइ मधेसी जनतालाई हेर्ने औपनिवेशिक दृष्टिकोण र व्यबहारलाई पराजित गर्न सर्वहारा बर्गिय मुक्ति आन्दोलनको बाटोले निर्णायक रूपमा पराजित गर्न सक्छ।
(कमरेड रोशन जनकपुरी को लेखको आधारमा आफ्नो दृष्टिकोण सहित)
यादव नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन।