एनपीएलको फाईनलमा जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गर्ने २ जना पक्राउ
काठमाडौँ– जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको एनपीएलको फाईनल खेलका क्रममा जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट र दुर्ब्यवहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डोटी आदर्श गाउँपालिका–२ घर भई कीर्तिपुर पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटी दिपायल सिलगढी नगरपालिका–१ घर भई भाजंगल बस्ने १९ वर्षीय गणेश साउदलाई पक्राउ गरेको हो।
उनीहरुले गत शनिबार त्रीवी क्रिकेट ग्राउण्डमा भएको एनपीएल फाइनलमा जनकपुर बोल्टसका समर्थक अमनकुमार सिंहलाई कुटपिट गरेको आरोप छ। अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोजेको तथा विभिन्न व्यक्तिहरूलाई अभद्र व्यवहार गरेको आरोपपछि उनीहरु पक्राउ परेका हुन।
उनीहरूमाथि प्रहरीले कीर्तिपुर प्रहरी वृत्तबाट अनुसन्धान भइरहेको छ। अन्य व्यक्तिहरूको पनि प्रहरीले खोजी गरिरहेको छ।