हङकङमा १८ वर्षपछि नेपालीका लागि खुल्यो भिसा, यस्तो छ सहज भिसा पाउने मापदण्ड
काठमाडौं– सन् २००५ देखि नेपालीका लागि बन्द गरिएको हङकङ प्रवेश भिसा करिब १८ वर्षपछि खुल्ला भएको छ। हङकङले नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि भन्दै रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाएको छ।
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो दोस्रो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका छन्।
जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ।’
यो नयाँ नीतिसँगै अब नेपाली इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार लगायतले हङकङमा सहजै रोजगार भिसा पाउने छन् भने जुनसुकै क्षेत्रको वढिमा एक वर्षे तालिम र अध्ययनका लागि पनि भिसा पाउने छन्।
तर, घरेलु कामदार लगायतका अन्य भिसा भने खुलेको छैन। हङकङमा ब्रिटिश गोर्खा सैनिक परिवारका करिब ४० हजार नेपाली बसोबास गर्दै आएका छन्, जो हङकङका स्थायी बासिन्दा हुन्। अहिले तिनै गेर्खा सैनिक परिवारसँग विवाह सम्बन्ध जोड्ने नेपाली मात्रै हङकङमा बसोबासका लागि जाने गरेका थिए।
जानकारहरुका अनुसार नेपालीलाई तालिम भिसा एकदमै नयाँ हो। पहिला यो भिसा अरु देशकालाई मात्र दिने गरिएको थियो। सन् २००५ मा नेपाली कामदारका लागि हङकङले भिसा रोकेको थियो।