रवि विरुद्ध ३ वटा कसुरमा मुद्दा, सम्पत्ति जफतको माग गर्दै पत्नी निकितालाई पनि बनाईयो प्रतिवादी
काठमाडौँ– सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाउँदै रविविरुद्ध मुद्दा दर्ता गरेको हो।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भए बताईन। यता, रवि पत्नी निकिता पौडेल विरुद्ध पनि मुद्दा दायर भएको छ। निकिताको हकमा लागेको आरोपबारे भने उनले केही वताएकी छैनन्।
स्रोतका अनुसार निकितासहित ५ जनालाई भने उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो। कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन रहेको कानुन ब्यवसायीहरुले वताएका छन्।
मुद्दामा प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गरिएको छ। आइतबार ३१ जनालाई प्रतिवादी बनाइएको छ। जसमा ८ वटा कम्पनी र ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो। यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाइँ, दिदी गीता पछाईंको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ।