बाघ मार्न जाँदा शिकारीकै मृत्यु, पासोबाट फुत्किएको बाघले यसरी गर्यो जिबबहादुरको शिकार

चितवन– पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ मा असोजको अन्तिम सातातिर बाघले बाख्रापाठा खाएर हैरान पार्‍यो। बाख्रापाठा त खायो नै, अभरमा पारेर मान्छे नै मार्ला की ? भनेर स्थानीयवासी त्राहिमाम भए।

नभन्दै २ कात्तिकका दिन तीनचुली मध्यवर्ती सामुदायिक वनमा वडा नं. १ कै लक्ष्मीटाँडीका ६३ वर्षीय जीवबहादुर थिङ बाघको आक्रमणमा मारिए। घाँस काट्न जाँदा बाघले जीवबहादुरलाई मारेको भनियो। जीवबहादुरको मत्यु भएपछि उनको परिवारले निकुञ्जसँग १० लाख क्षतिपूर्ति पनि माग्यो।

तर, अनुशन्धानका क्रममा भने घट्ना आधा मात्रै सत्य भएको खुलेको छ। घटनास्थलबाट सवारी साधनको ब्रेकको तार र रौं अल्झेको जस्तो देखिने तार फेला परेको थियो। यी सामान देखेपछि निकुञ्जका कर्मचारी तथा नेपाली सेनाको टोलीले शसंकित भयो। अनुशन्धान गर्ने क्रममा जीवबहादुर बाघ मार्न जाँदा बाघकै आक्रमणमा मारिएको खुलेको छ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार उनी त्यो दिन घाँस काट्न नभई बाघ मार्न जंगल गएका थिए। तीन दिन अगाडि थापेको पासोमा बाघ परेको सुँईको पाएपछि त्यहाँ पुगेका जीवबहादुरको मृत्यु पासोबाट फुत्किएको बाघको आक्रमणबाट भएको अनुशन्धान अधिकृत सुजिता श्रेष्ठले बताइन् ।

बाघ मार्न पासो थाप्न सँगै गएका स्थानीय २० वर्षीय अमृत न्यौपानेले यो घट्नाको थप रहस्य खोलेका छन्। उनलाई निकुञ्ज कार्यालयले सुराकीको आधारमा २९ कात्तिकमा पक्राउ गरेको थियो। निकुञ्ज प्रशासनका अनुसार बाघले बाख्रा मारेपछि जीवबहादुरले बाघ मार्न पासो थापेका थिए। तर, पशु चौपायलाई क्षति पुर्‍याएरभन्दा पनि बाघ मारेर त्यसको अखेटोपहार बेचबिखन गर्ने उद्देश्यले पासो थापेको देखिएको छ।

अनुसन्धान अधिकृतहरूका अनुसार गाउँलेहरु बसेर छलफल गरेर बाघ मार्ने योजना बनाएको देखिएको छैन। अर्कोतर्फ उनी यसअघि पनि वन्यजन्तु मार्ने जस्ता विभिन्न काण्डमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन। त्यसैले बाघ आउने ठाउँ खोजेर मार्ने र पैसा कमाउने उदेश्यले योजनावद्ध रुपमा बाघका लागि पासो थापिएको देखिन्छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार जीवबहादुरले थापेको पासोबाट फुत्किएको बाघ अहिलेसम्म पनि जिउँदै छ। जिबबहादुरलाई बाघले आक्रमण गरेपछि न्यौपानेले भने रुखमा चढेर ज्यान बचाएका थिए। उनले प्रयोग गर्ने मोबाईलमा पासोमा परेको बाघको फोटोसमेत बरामद भएको छ। फोटो उनले रुखमै चढेर खिचेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट