टिकटक बनाउन भीडीओ खिच्ने क्रममा दहमा डुबेर २४ वर्षीया शिक्षिका र विद्यार्थीको मृत्यु
विराटनगर– तेह्रथुममा टिकटक बनाउन फोटो/भीडीओ खिच्ने क्रममा लडेर दहमा डुबेका एक शिक्षिका र बिद्यार्थीको शनिवार मृत्यु भएको छ।
तेह्रथुमको मेन्छेयायेम गाउँपालिका–५, गौखुरी माविकी शिक्षिका(नर्स) २४ वर्षिया रविना राजबंशी र कक्षा ७ की विद्यार्थी १४ वर्षिया सुस्मिता भट्टराईको शनिबार दिउँसो मृत्यु भएको हो। शिक्षिका मोरङको विराटनगरकी वासिन्दा हुन भने विद्यार्थी स्थानीय हुन्।
शनिबार छुट्टीका दिन खोरुङगास्थित हाइड्रोपावरमा घुम्न गएका शिक्षक र बिद्यार्थीहरु मध्ये ३ जना टिकटक बनाउन भनेर खोलातर्फ गएका थिए। त्यसैबेला २ जना दहमा डुबेको तेह्रथुमकी डिएसपी चिनिमायाँ तामाङले जानकारी दिईन।
फोटो खिच्न सँगै गएकी अर्की छात्राले खबर गरेपछि पुगेका स्थानीयले दुवैको शव दहबाट निकालेका हुन। एकजनाको शव डुबेको र एक जनाको शव तैरिरहेको अवस्थामा फेला परेको स्थानीयको भनाई छ।
घटना कसरी भयो भन्ने एकिन नभएपनि भीडीओ बनाउने क्रममा उनीहरु चिप्लिएर दहमा खसेको हुन सक्ने प्रहरीको आशंका छ। घट्नाको विस्तृत अनुशन्धान हुने डीएसपी तामाङले बताईन।