सिरहामा मदिरा तस्करद्वारा सशस्त्र प्रहरीका सईको हत्याः ५ जनाको संलग्नता, १ नेपाली पक्राउ
लहान– सिरहामा मदिरा तस्करी रोक्न खोज्ने सशस्त्र प्रहरी बल नेपालका सई ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको हत्यामा संलग्नहरुको पहिचान भएको छ। गाडीले ठक्कर दिएर सईको हत्या गरिएको घट्नामा लामो अनुशन्धानपछि प्रहरीले ५ जनाको नाम पत्ता लगाएको हो।
सिरहा प्रहरीका एसपी रमेश पण्डितले उक्त घट्नामा ५ जनाको समूह संलग्न रहेको जानकारी दिएका छन्। ती मध्ये एक जना नेपाली पक्राउ परेका छन्। उनको परिचय प्रहरीले खुलाएको छैन। अनुशन्धानका क्रममा २ जना पक्राउ परेपनि संलग्नता देखिएका उनलाई राखेर एक जनालाई प्रहरीले रिहा गरेको छ।
घट्नामा संलग्न अन्य ४ जना अझै पनि फरार छन्। फरार रहेका ४ जनामा नेपाली र भारतीय दुवै छन्। नेपालीहरु समेत फरार भएर भारत नै पुगेको आशंका छ। त्यसैले अहिले भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरुलाई पक्राउ गर्ने तयारी भईरहेको जनाईएको छ।
सुरुमा प्रहरीले सई यादवलाई ठक्कर दिने स्कर्पियोको पहिचान गरेको थियो। भारतीय गाडीको नम्बर खुलेपछि घटनामा संलग्नहरुको पहिचान गर्न प्रहरीलाई सरल भएको थियो। १५ दिन लामो अनुसन्धानमा सई यादवलाई ठक्कर दिने गाडी र घट्नामा संलग्नहरुको पहिचान गरिएको एसपी पण्डितको भनाई छ।
पीडित परिवारकोतर्फबाट सवारी ज्यान र संगठित अपराधको कसुरमा किटानी जाहेरी समेत परेको एसपी पण्डितले वताए। गत १६ मंसिरको विहान करिव सवा ३ वजे मदिरा तस्करीमा संलग्न स्कारपियोले बरियारपट्टिस्थित सीमा इलाका बोर्डर आउट पोस्ट(बीओपी) का सई यादवलाई किचेर भागेको थियो।
मदिरा तस्करी भईरहेको जानकारी पाएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलमा रहेको बीओपीबाट सई यादवको कमाण्डमा ५ जनाको गस्ती टोली मोटरसाईकल लिएर खटिएको थियो।
सो क्रममा सई यादवलाई ठक्कर दिएर तस्करहरु भारततर्फ फरार भएका थिए। घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पु¥याइएको थियो। अस्पताल पु¥याएको १५ मिनेटपछि विहान ४ बजे सई यादवको मृत्यु भएको थियो।
यादव सिरहाकै नरहा गाउँपालिका–४ ललभितियाका स्थानीय हुन्।