अमेरिकामा १ शिक्षक र १ विद्यार्थीको गोली हानी हत्या गरेर १५ वर्षीया छात्राले विद्यालयमै गरिन आत्महत्या
काठमाडौँ– अमेरिकाको एउटा विद्यालयमा १५ वर्षीया छात्राले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्।
विसकन्सिन प्रान्तको म्यडिसनस्थित एबन्डेन्ट लाइफ क्रिस्टियन स्कुलमा सोमबार बिहान कक्षा सुरू भएपछि १५ वर्षीया छात्राले अन्धाधुन्ध गोली चलाएकी थिईन। त्यस क्रममा गोली लागेर एक विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ।
२ जनाको मृत्यु र ६ जना घाइते भएपछि छात्राले आफैमाथि पनि गोली चलाउँदा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। म्याडिसन प्रहरी प्रमुख शन बार्न्सका अनुसार गोली चलाउने छात्रा सामन्था भनेर चिनिने नटाली रूपनो हुन।
घाइते ६ जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको र तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ। विद्यालयमा अन्धाधुन्ध गोली चलेपछि २ कक्षामा पढ्ने ६÷७ वर्षकी छात्राले ९११ मा फोन गरेर प्रहरीलाई घटनाबारे जानकारी दिएकी थिईन।
गोलीको खबरपछि विद्यार्थीका अभिभावकहरू विद्यालय पुगेका थिए। उक्त विद्यालयमा झन्डै ४ सय विद्यार्थी अध्ययनरत रहेको बताइएको छ। गोली चलाउने छात्राका अभिभावकहरूसँग प्रहरीले सोधपुछ गरिरहेको छ।
अमेरिकामा विद्यालय गोलीकाण्डका घटना यसपालि तुलनात्मक रूपमा बढेको छ। यो वर्ष मात्रै विद्यालयमा गोली चलेका ३२२ वटा घटना रहेको बताएको छ।