एमाले नेता महेश वस्नेतसँग नाम जोडिएकी शोभा पाठक अदालतबाटै पक्राउ
काठमाडौँ– एमाले नेता महेश बस्नेतसँग नाम जोडिएपछि चर्चामा आएकी धादिङकी जानुका पाठक (शोभा पाठक) पक्राउ परेकी छिन्। प्रहरीले सोमबार दिउँसो काठमाडौँ जिल्ला अदालत परिसरबाटै उनलाई पक्राउ गरेको हो।
साइबर अपराधको उजुरीमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ।
पाठकविरुद्ध १८ मंसिरमा विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाहीका लागि पक्राउ पुर्जी जारी भएको थियो। तर, उनी स्वयमले भने नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको बताएकी छिन्।
पाठकले यसअघि एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतविरुद्ध समेत मुद्दा मामिला गरेकी थिइन्। बस्नेतसँग ठूलो धनराशी माग गरेर ब्ल्याकमेल गरेको आरोपमा उनीविरुद्ध आपराधिक लाभको मुद्दा चलेको थियो। बस्नेतविरुद्ध उनले दायर गरेको रिट अदालतले खारेज गरेको थियो। उनले यसअघि पनि विभिन्न व्यक्तिसँग विहे गर्दै रकम लिएर छाड्ने गरेको आरोप छ।
शोभाले पहिलो बिवाह ११ भदौ ०७० मा शिवराम भण्डारीसँग गरेकी थिइन्। २ वर्षपछि उनले बिवाह दर्ता गरेर पहिलोपटक नागरिकता लिएकी थिइन्। पछि उनीसँग छुटेपछि पतिको नाम हटाएर प्रतिलिपि लिएकी छन्।
शोभाले १४ वैशाख ०८० मा आफूभन्दा कान्छा कालिकोटका २६ वर्षीय कपिलबहादुर शाहीसँग बिहे गरेकी थिइन्। तर, १९ पुसमै शाहीसँग डिर्भाेस गरिन। यसविचमा शोभाले अन्य दुई जनासँग बिहे गरेको चर्चा छ। उनले पटकपटक गरेको बिहे दर्ता र डिर्भाेस प्रमाणपत्र सञ्जालमा भाइरल छन्। तर, पटकपटक बिहे गरिसकेकी उनले २४ चैत ०७९ मा ज्वालामुखी गाउँपालिकाबाट अविवाहित रहेको भन्दै सिफारिस लिएको पनि भेटिएको छ। धादिङको ज्वालामुखी गाउँपालिका ७ का वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद खकुरालले, पत्र संख्या ०७९/८० र चलानी नम्बर ५५६ मा बनाइदिएको सिफारिसमा ‘श्री जानुका पाठक अविवाहित रहेको ब्यहोरा प्रमाणित गरिन्छ’ भन्ने उल्लेख छ।
यतिमात्रै होईन, नागरिकतामा समेत दुईवटा जन्ममिति भेटिएको थियो। उनी धादिङ ज्वालामुखी ७ की हुन्। शोभाले २०७२ मा लिएको नागरिकतामा जन्म मिति २०४३ उल्लेख थियो। जुन जिल्ला प्रशासन कार्यालय धादिङको ढड्डामा लेखिएको छ।
त्यसपछि उनले नागरिकता हराएको भन्दै ९ कात्तिक ०७५ मा प्रतिलिपि लिइन्। त्यस बेलामा उनले नागरिकताको प्रतिलिपिमा महिना र गते उही राखेर साल मात्र फरक लेखाएकी छिन्। जसमा ६ वर्ष उमेर घटाएर २०४९ जन्म मिति कायम गरेकी छिन्।
अहिले उनले प्रयोग गर्दै आएको नागरिकता त्यही हो। प्रतिलिपि लिनुअघि २०७५ अघि भने २०४३ जन्म मिति रहेकै नागरिकता प्रयोग गर्दै आएकी थिइन्। जिल्ला प्रशासन कार्यालयको ढड्डामा भने जन्म मिति २०४३ नै छ। प्रतिलिपि लिएको रेकर्डमा ‘पतिको नाम हटाइ ठेगाना ज्वालामुखी वडा नम्बर ७ कायम गरिएको’ भनेर ढड्डामा उल्लेख गरिएको छ।
शोभाले भने आफूसँग पहिलेको नागरिकतामा पनि २०४९ साल नै जन्म मिति रहेको दाबी गरेकी छिन्। सिडिओ कार्यालयमा भएको रेकर्डमा के छ त्यो भने आफुलाई थाहा नभएको उनी बताउँछिन्।