रवि लामिछानेका पूर्व पार्टनर छविलाल जोशी विरामी, गण्डकी मेडिकल कलेजमा भर्ना
काठमाडौँ– सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी विरामी भएपछि अस्पताल भर्ना गरिएको छ।
जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार बिहीबार स्वास्थ्य जाँचका लागि उनलाई अस्पताल लगिएको थियो। सो क्रममा डाक्टरको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरिएको हो।
सहकारी ठगीको आरोप लागेका रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने र जीवी राईका ब्यवसायीक पार्टनर जोशी ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परेका थिए। त्यसयता उनी प्रहरी हिरासतमा छन्।
उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ। पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, सहारा चितवन, वीरगञ्जको सोनोपाइला सहकारी, काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनी अनुसन्धानमा छन्।