घरेलु कामदार किशोरीलाई बलात्कार गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर शिवाकोटी पक्राउ
दमक– घरेलु कामदार किशोरीलाई बलात्कार गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुबकुमार शिवाकोटी पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले सिवाकोटीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय अनारमनीको जिम्मा लगाएको छ।
जानकारी अनुसार बिर्तामोड–५ निवासी सिवाकोटीको घरमा पीडित १७ वर्षीया किशोरी ८ वर्षअघिदेखि घरेलु कामदारका रुपमा वसेकी थिईन। उनले आफुमाथि पटक–पटक बलात्कार भएको प्रहरीसँग बयान दिएकी छिन्।
पीडित किशोरी बालखै हुँदा उनका बाबुको मृत्यु भएको थियो। काँकडभिट्टामा रहेका आफन्तकोमा बस्दै आएकी आमा पनि दोस्रो बिवाह गरेर भारतको आसामतिर लागिन। अभिभावक बिहिन भएका किशोरी र उनका दाजु काँकडभिट्टामा आफन्तकै आश्रयमा थिए।
केही समयपछि किशोरीलाई बिर्तामोडकै एक आफन्तले लिएर आए। त्यही बसेका वेला शिवाकोटीले ‘नातीको साथी’ हुने भन्दै पढाउने र नातिनी सरह ब्यवहार गर्ने सर्तमा उनलाई मागेर घर लगेका थिए।
स्थानीय एक विद्यालयमा ११ कक्षामा पढ्दै गरेकी उनी शिवाकोटीको शारीरिक शोषण सहन नसकेर भागेर भारत जाने तयारीमा थिईन। शंकास्पद रुपमा भारत जान लागेकी उनलाई आफन्त नेपालका प्रतिनिधिले रोके। स्कुल ड्रेसमै रहेकी उनलाई आफन्त नेपालका प्रतिनिधिले विश्वस्त वनाएर सवैकुरा सोधपुछ गरे।
त्यसपछि उनले शिवाकोटीको कर्तुतका बारेमा जानकारी गराएकी थिईन। आफन्त नेपालका प्रतिनिधि भन्छन्–‘पुर्वमेयर शिवाकोटीको बलात्कारको पीडा सहन नसकेर भाग्न लागेको किशोरीले बताईन।’ त्यसपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो।
शिवाकोटी हाल ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन्।