चितवनसँग ३३ रनले पराजित भयो सुदूरपश्चिमः चितवनको तेस्रो जित, सुदुरको पहिलो हार
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ। ३ खेल लगातार जितेको सुदूरपश्चिमको यो पहिलो हार हो भने चितवनको यो तेस्रो जीत हो।
चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो। सुदूरपश्चिमका इशान पाण्डेले ३५, सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रन बनाए।
बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल र अमरसिंह रौटेलाले २–२ विकेट लिए। शोहिल तनविर र रञ्जितकुमारले एकएक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो। चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोड्दा रवि बोपाराले आक्रामक ब्याटिङ गरे। उनले १८ बलमा ३६ रन बनाए। कप्तान कुशल मल्लले १३ र विपीन रावलले १७ रनको योगदान दिए।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एक–एक विकेट लिएका थिए।