कांग्रेस सभापति देउवासँग हिमचिम भएका घिमिरेले फेसबुकमा किन लेखे रवि लामिछानेको इन्काउण्टरको कुरा ?
राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिसोधका लागि सहकारी ठगी प्रकरणमा पक्राउ गरेर हिरासतमा राखेको आरोप लगाईरहेकै छ।
रास्वपा केन्द्रीय समितिको १० कात्तिकमा बसेको बैठकले लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको, अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र गरेको दाबी गरेको थियो।
त्यसमाथि पनि अहिले चितवनबाट रातारात पोखरा पुर् याउँदा उनको मानवअधिकार हनन् भएको विषय थपिएको छ। प्रहरीले उनी विरामी भएको वेला जवर्जस्ती हिँडाएको भन्दै मानवअधिकार आयोगले पनि चासो देखाएको छ।
आयोगका अनुसार पोखरा पुर् याएर स्वास्थ्य परीक्षण गर्दा उनको ब्लड प्रेसर १८०/९० पुगेको थियो। आयोगको टोलीले शुक्रबार लामिछानेलाई कास्की प्रहरी हिरासतभित्र भेटेर सोधपुछ गरेका थिए। आयोगको टोलीले सोधपुछ गर्दा प्रहरी अधिकृतहरू पनि सँगसँगै थिए।
कास्की प्रहरीका अनुसार लामिछानेलाई चितवनबाट बिहीबार बिहान साढे ३ बजेतिर पोखरा पुर् याईएको थियो। पोखरा पुगेपछि उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो।
चितवनको सहारा सहकारीको बचत अपचलन मुद्दामा बुधबार बिहानदेखि राति ९ बजेसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएका लामिछानेले आफ्नो टाउको दुखेकाले औषधी सेवन गरेको प्रहरीलाई जानकारी गराएको आयोगको टोलीले फेला पारेको छ।
यसैबीच, लामिछानेको सुरक्षाको विषय पनि चर्चामा आउन थालेको छ। उनको इन्काउन्टर गर्ने आसयका कुराहरु सामाजिक सञ्जालमा देखिन थालेपछि सुरक्षा चासो थपिएको हो। हाल विदेशमा रहेका पूर्व पत्रकार नारायण पौडेलले बुद्धिसागर घिमिरे नामका फेसवुक प्रयोगकर्ताको स्ट्याटसलाई स्कृनसर्ट गरी आफनो वालमा राख्दै लामिछानेको सुरक्षा आमचासोको विषय भएको उल्लेख गरेका छन्।
नेपाल पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधि भनि फेसबुक प्रोफाइल राखेका तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग हिमचिम रहेको प्रष्टै देखिने घिमिरेले आफनो फेसवुक वालमा ‘सहकारी ठगलाई पर्सा लाने बेला इन्काउन्टर गरी दिए के होला? देशको राजनीतिमा उथलपुथल होला?’ भन्दै लेखेका छन्। उनले लामिछानेको नाम नलिए पनि आसय उनैमा केन्द्रित देखिन्छ।
यही विषयमा पूर्वपत्रकार पौडेलले लेखेका छन्–‘ सहकारी ठगलाई पर्सा लग्ने बेला इन्काउन्टर गरिदिए के होला? यो हो न्युजिल्याण्डका लागि नेपाल पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधि भनि फेसबुक प्रोफाइल राखेका तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग हिमचिम रहेको प्रष्टै देखिने बुद्धिसागर घिमिरेले सामाजिक संजालमा लेखेको कुरा! हिरासतमा रहेको ब्यक्तिलाई इन्काउन्टर गर्न सामाजिक संजालबाटै आह्वान हुनु डरलाग्दो हो। बुद्धिजीले बुद्धि पुर्याइवरी हो कि नपुर्याई हो अकल्पनीय घटनाबारे ह्विसल ब्लोवरको काम गरेका छन्! रविजीको सुरक्षा जनसरोकारको बिषय भयो है!’
मुलुकको सवैभन्दा ठुलो पार्टीका सभापति तथा उपप्रधानसहित गृहमन्त्रालय चलाईरहेको पार्टीका सभापति देउवासँग खिचेका फोटोहरु फेसवुकमा राखेका ब्यक्तिले लामिछानेको इन्काउन्टरको विषय उठान गरेपछि अहिले सर्वत्र चासो वढेको छ। यस विषयमा घिमिरे र सरकारकातर्फबाट कुनै पनि प्रतिक्रिया सार्वजनिक भईसकेको छैन।