करोडबढिको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ
काठमाडौँ– कैलालीमा सशस्त्र प्रहरीले शनिवार साँझ करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित ३ जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका–५, कौवाखेडा सीमाक्षेत्रका सुनचाँदी र नगदसहित उनीहरु पक्राउ परेका हुन।
बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारलेको टोलीले सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका –१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई पक्राउ गरेको हो। यो वीओपी सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत पर्छ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका ४ थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।