अमेरिकामा नेपाली नर्स ममता काफ्ले हत्या प्रकरणः श्रीमान नरेशविरुद्ध शव लुकाएको आरोपमा मुद्दा

काठमाडौँ– अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएको मुद्दा चलेको छ।

अन्तराष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार जुलाईको अन्त्यतिर श्रीमती ममताको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने छ। नरेश भूतपूर्व अमेरिकी सेना हुन्।

उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइने समाचारमा उल्लेख छ। नरेशले जुलाई ३० मा ममताको हत्या गरेको स्थित मानसास पार्क प्रहरीले जनाएको छ।

प्रहरीले ममता र नरेश बस्दै आएको घरको कोठामा फेला परेको रगतको डीएनए जाँच गराएको थियो। जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भएको मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले बताएका छन्।

सुरुदेखि नै ममताको हत्या भएकोमा आफुलाई शंका लागेको र डीएनए जाँच तथा अन्य प्रमाणबाट पनि उनको हत्या भईसकेको पुष्टि भएको लुगोले बताएका छन्। ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने भेटिएको छैन। शवको खोजी निरन्तर जारी राखिने प्रहरीले बताएको छ।

प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिमपटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन्। लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए।

अगष्ट २ मा प्रहरी ममता र नरेशको घर पुगेको थियो।सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए। प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो।

त्यसयता नरेश प्रहरी हिरासतमा छन्। लामो अनुसन्धानपछि ममताको हत्या गरेर नरेश आफैले उनको शव लुकाएको प्रमाण अदालतमा पेस गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट