गाँजा बोकेको ट्रकसहित सुनसरीमा ४ जना पक्राउ, चेकजाँच थालेपछि भागेका थिए ट्रक चालक
इटहरी– पूर्वपश्चिम राजमार्गको सुनसरी खण्डबाट प्रहरीले करिव साढे ३ सय केजी गाँजा बोकेको ट्रकसहित चारजना कारोबारीलाई पक्राउ गरेको छ।
सुनसरीको कोशी गाउँपालिका–७, हरिपुरबाट प्रदेश १–०२–००२ ख ०४१४ नम्बरको ट्रकसहित चालक धनकुटाको शहिदभूमि गाउँपालिका–४ का ३० वर्षीय जयप्रकाश राई, भोजपुरको पौवादुम्बा गाउँपालिका–६ का २२ वर्षीय समिर राई, सुनसरीको कोशी गाउँपालिकाका २५ वर्षीय भक्ति भनिने बिहारी मुखिया र २२ वर्षीय रुपेश यादव पक्राउ परेका हुन्।
प्रहरीले ट्रकसहित ११ वटा बोरामा लुकाइराखेको ३ सय ४० केजी गाँजा बरामद गरेको सुनसरी प्रहरीका एसपी सुमनकुमार तिम्सिनाले बताए। कालो त्रिपालले पछाडिको भागमा छोपिएको ट्रक चेकजाँच गर्ने क्रममा चालक राई ट्रक छोडेर भागेका थिए।
त्यसपछि ट्रकको नम्बरका आधारमा यातायात कार्यालयसँग सहयोग लिई उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई अनुसन्धान थालिएको एसपी तिम्सिनाले बताए।