रास्वपाभित्र कार्यवाहकका लागि २ उपसभापतिबीच भईरहेको रडाको कसरी भयो अन्त्य ?
काठमाडौँ– सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परे लगत्तै कार्यवाहक सभापतिका लागि सुरु भएको दुई उपसभापतिबीचको रडाको अन्त्य भएको छ।
लामो रस्साकस्सीपछि उपसभापति डोलप्रसाद (डिपी) अर्याल कार्यवाहक सभापति भएका छन्। तर, यसको औपचारिक घोषणा भने भएको छैन। सभापति लामिछाने लामो समय नछुट्ने देखिएपछि उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र अर्यालबीच नेतृत्वको लागि प्रतिस्पर्धा चल्दै आएको थियो।
दुवैले कार्यवाहक पाउन प्रतिष्ठाको लडाई लडिरहेका थिए। तर, उनीहरुले आफैले यसको समाधान खोजेको जनाईएको छ। वाग्ले र अर्यालबीच केही दिनअघि आपसी सहमति भएको एक कन्द्रीय सदस्यले बताए।
स्वर्णिम आफैले डिपीलाई कार्यवाहक सभापतिका लागि प्रस्ताव गरेको उनको भनाई छ। तर, सभापति हिरासतमा हुँदा कार्यवाहकको औपचारिक घोषणाले कानुनी प्रश्न उठाउन सक्ने भन्दै घोषणा नगरिएको स्रोतको भनाई छ।
उपसभापति वाग्लेले पनि कार्यवाहक सभापति बन्नका लागि इच्छा व्यक्त गरेका थिए। तर सभापति लामिछानेको रोजाईमा वाग्लेभन्दा अर्याल नै अगाडि परेका थिए।
लामिछाने भने सहकारी ठगी आरोपमा २ कात्तिकमा पार्टी कार्यालयबाटै पक्राउ परेका हुन। उनीमाथि सहकारी ठगी, संगठित अपराध, लिखित किर्ते, सम्पति शुद्धीकरणलगायतका मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
लामिछानेलाई काठमाडौँमा वयान सकेर मंगलबार विहानै चितवन पुर्याईएको छ। पछिल्लो समय लामिछानेविरुद्ध बलिया प्रमाणहरु फेला परेको प्रहरीले दावी गरिरहेको छ। सरकारले राजनीतिक प्रतिशोध साँधेको दावी गर्दै आएका रास्वपा नेताहरु नै सभापति लामिछाने पुर्पक्षका लागि थुनामा जानसक्ने बताउन थालेका छन्।
खासगरी उपसभापति वाग्लेले सभापति लामिछानेका लागि पार्टीलाई अल्झाउन नहुने तर्क राख्दै आएका छन्।