चोरी भएको १ लाख खोज्न थालेको प्रहरी गहना देखाएर ठगी गर्ने गिरोहसम्मै पुगेपछि…

विराटनगर– संखुवासभाको पाँचखपन नगरपालिका–५ का कृष्णबहादुर तामाङ २७ कात्तिकमा विरामी श्रीमती लिएर उपचारका लागि मोरङको विराटनगर झरे। बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा श्रीमतीको उपचार सुरु भयो।

अस्पतालमा रहँदावस्दा एक जना अपरिचित ब्यक्तिसँग कृष्णबहादुरको चिनजान भयो। अपरिचित व्यक्तिले गाउँले दाजुभाइको नाता लगाए। ती ब्यक्तिले उपचारमा सहयोग गर्ने बाचा पनि गरेपछि कृष्णबहादुरको मनमा आशा पनि पलायो। पहाडी गाउँबाट झेरका उनलाई सहोदर दाजुभाई भन्दा नजिक लाग्न थाल्यो। विस्वासमा परे। तर, यही नाताको फाईदा उठाएर ती ब्यक्ति उनको झोलाभित्र राखेको १ लाख १० हजार रूपैयाँ चोरेर चम्पट कसे।

भएको झिजीपूँजी चोरिएपछि कृष्णबहादुरको विल्लीबाठ भयो। उनले प्रहरीसँग गुहार मागे। प्रहरीले घटनाको अनुसन्धान सुरु गर्यो। पैसा चोरिएको घट्ना अनुशन्धान गरिरहेको प्रहरी मेरो पत्ता लगाउँदै जाँदा ‘सुन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहको सञ्जालमा पुगेको छ।

मोरङ प्रहरी एसपी नारायणप्रसाद चिमरियाका अनुसार कृष्णबहादुरको पैसा चोरेर भाग्ने झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ हुन्। सुन देखाएर ठगी गर्ने गिरोहमा उनीसहित संलग्न रहेको खुलेको छ। यही आरोपमा प्रहरीले २ भारतीय नागरिकरहित ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ, ३४ वर्षीय सञ्जय शर्मा, तोपगाछीका अशोक, कनकाई नगरपालिका–९ घैलाडुबाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवालाई पक्राउ गरिएको छ।

मोरङसहित झापा र सुनसरीमा ठगी धन्दा चलाईरहेका यो गिरोहका अधिकांश सदस्य इटहरीका विभिन्न स्थानबाट पक्राउ परेका हुन। प्रारम्भिक अनुसन्धानमा सुनसरीमा ५, मोरङमा ४ र झापामा १ जनालाई ठगी गरेको खुलेको छ। गिरोहले विशेष गरी हाट वजार, अस्पताल, मेला, पर्व र भिडभाड बढी हुने ठाउँमा गएर गरगहना लगाएका सोझा र वृद्ध अवस्थाका मानिसहरुलाई सुनजस्तो धातु देखाई प्रलोभनमा पार्ने र ठगी गर्ने गरेको खुलेको एसपी चिमरियाले जानकारी दिए।

उनीहरुले होटल परिवर्तन गरिरहने, गलत नामहरु बताउने, फ्ल्याट भाडामा लिएर बस्ने, अन्य व्यक्तिका नाममा रहेका मोबाइलका सिम प्रयोग गर्ने गरेको पत्ता लगाएको छ। उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातुबाट बनाइएको तिलहरी, हार, मंगलशूत्र,, चन्द्रमा, कानमा लगाउने रिङ, बेरुवा, लकेट, सिक्री, झुम्का, टप, ब्रासलेट, औंठी लगायतका गहना वरामद भएका छन्।

प्रतिवादीविरुद्ध ठगी मुद्दा चलाउन अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट