मदिरा तस्करको निशानामा प्रहरीः २ वर्षअघि एसएसबीका हेड कन्सटेबलको पनि भएको थियो हत्या
राजविराज– प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत रहेको सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट (बीओपी) का निमित्त इन्चार्ज सई ४८ वर्षीय लक्ष्मणप्रसाद यादवलाई आईतबार विहान मदिरा तस्करीमा संलग्न गाडीले ठक्कर दिएर ज्यान लियो।
स्कर्पियो गाडीमा मदिरा तस्करी भईरहेको सूचनाका आधारमा यादवको कमाण्डमा ५ जनाको मोटरसाईकल गस्ति टोलीले आइतबार बिहान ३ बजेदेखि गाडीको पिछा गरेको थियो। सो क्रममा मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर ज्यान लियो।
गाडी भारततर्फ फरार भएको थियो। सिरहाकै नरहा गाउँपालिका–४ ललभितिया निवासी सई यादवको मृत्यु भएपछि आइतबार बिहान ९ बजेदेखि नै आफन्तले लहान नगरपालिका–३ हस्पिटल चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भेला भएर टायर बाल्दै प्रदर्शन गरे। गाडी नियन्त्रणमा लिएर कारबाही गर्ने सहमति भएपछि सडक सञ्चालनमा आएको थियो।
घट्नामा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। तर, उनीहरुको पहिचान खुलाईएको छैन। सई यादवलाई ठक्कर दिने सवारी साधन स्कर्पियो भन्ने निश्चित भए पनि उक्त सवारी भारतीय वा नेपाली नम्बर प्लेटको भन्ने पनि पहिचान नभएको प्रहरीले जनाएको छ।
यता, मदिरा तस्करकले प्रहरीको ज्यान लिएको यो पहिलो घट्ना भने होईन। २ वर्षअघि तस्कर समूहले भारतीय प्रहरी बल एसएसबीका हेड कन्सटेबल देवराज शर्माको पनि हत्या गरेको थियो। १३ भदौ ०७९ मा सिरहा नगरपालिका–२१ लगडिगोठबाट मदिराले भरिएको स्कर्पियो जयनगरतर्फ जाँदै गरेको सूचना एसएसबीले पाएको थियो। सोही सूचनाका आधारमा भारतको मधुवती जिल्ला दलनीया प्रहरी चौकी अन्तर्गत जोगिया गाउँ प्रवेश गरेको मदिरा बोकेका जीपलाई रोक्न खोज्दा हेड कन्सटेबल शर्मा मारिएका थिए।
गाडीले शर्मालाई किचेर अगाडि बढेको थियो। उनले घटनास्थलमै ज्यान गुमाए। त्यसको दोस नेपालतर्फको सशस्त्र प्रहरीलाई लाग्यो। त्यसवेल भारतीय पक्षले सशस्त्र प्रहरीकै ‘सेटिङ’ मा भारततर्फ घरेलु मदिरा तस्करी हुने गरेको आरोप लगाएको थियो।
अहिले फेरि सोही प्रकृतिको घटना सिरहामा दोहोरिएको छ। अहिले भने सिरहामा सशस्त्रका एसपी नरेश भण्डारी छन्। मदिरा तस्करीकै विवादले १६ असोज २०८० मा सशस्त्र प्रहरी हेडक्वाटरले एसपी प्रमोद भारतीको जिम्मेवारी खोसेर भण्डारीलाई पठाएको थियो।