आकांक्षी व्यवस्थापन गर्न नसक्दा गढी–६ एमालेले गुमायो, माओवादी पसेर उम्मेदवार वनेका खेरवार पनि पराजित
इटहरी– टिकट वितरणमा आकांक्षीको चित्त वुझाउन नसक्दा नेकपा एमालेले सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद गुमाएको छ। यसअघि एमालेले वडाध्यक्ष जितेको त्यहाँ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
८ सय १६ मत प्राप्त गरि नेपाली कांग्रेस उम्मेदवार तेतर साहु बिजयी भएका हुन। साहले माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारलाई २४ मतले पछि पारे। खेरवारले ७ सय ९४ मत प्राप्त गरेका छन्।
०७९ को निर्वाचनमा यस वडा एमालेका षडानन्द उराव निर्वाचित भएका थिए। उनले ७१२ मत ल्याएका थिए। त्यति बेलाको चुनावमा नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले ४२४ मत ल्याएर दोस्रो स्थान ओगट्दा कांग्रेसका तिलेश्वर चौधरी ४१६ मतका साथ तेस्रो स्थानमा थिए।
षडानन्दको निधनपछि भएको उपचुनावमा एमाले तेस्रो स्थानमा झरेको छ। एमालेका उम्मेदवार शन्तु उरावले ७ सय ७० मत प्राप्त गरेका छन्। वडामा २ हजार ६ सय ४४ मत खसेको थियो। जसमध्ये ७५ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
गढी–६ एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भगवती चौधरीको सुनसरी क्षेत्र नम्बर–३ मा पर्छ। तर, टिकट वितरणमा सन्तुलन मिलाउन नसक्दा एमालेले यो वडा गुमाएको जनाईएको छ। दोस्रो मत प्राप्त गरेका माओवादी उम्मेदवार खेरवार एमालेकै आकाक्षी हुन। टिकट नपाएको झोंकमा उनी माओवादी प्रवेश गरी वडाअध्यक्षको टिकट लिन सफल भएका थिए।
उनको महत्वकांक्षाले माओवादी र एमाले दुवैले हार व्यहोर्नु परेको स्थानीय वताउँछन्। दुई पार्टीको असन्तुलनको फाईदा काग्रेसले उठाएको छ। ०७४ सालको निर्वाचनमा गढी–६ कांग्रेसले नै जितेको थियो। यसपटक कांग्रेसले ‘कमब्याक’ गरेको छ।