विहानको झगडाको रिसले दिउँसो सुतेका श्रीमानको इटाले हानेर हत्या
काठमाडौँ– कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम राना र उनकी श्रीमती ४३ वर्षीय जनककुमारी रानाको विहिबार विहान घरायसी कुरामा विवाद भयो।
झगडा भएको केही घण्टा नवित्दै सियाराम मृत अवस्थामा फेला परे। बिहीबार बेलुकी पख सियाराम आफ्नै घरको शौचालयमा चिप्लिएर लडेको र त्यसैको चोटका कारण मृत्यु भएको भन्दै प्रहरीलाई खवर आयो।
इलाका प्रहरी कार्यालय बेलौरीबाट पुगेको प्रहरीले घटनास्थल हेर्दा सियारामको मृत्यु लडेर भए जस्तो थिए। उनको शव शौचालयमा नभएर नजिकै ग्यालरीको कुनामा सिरकले छोपेको अवस्थामा थियो।
घटना शंकास्पद लागेपपछि प्रहरीले प्रारम्भिक जाँच गर्यो। त्यस क्रममा मृतकको टाउको र तालुमा काटिएको जस्तो चोटहरू देखियो। घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोकालगायत स्थानमा रगतका छिटा र टाटा देखिए।
खाटमुनि रगत लागेको आधा इँटा र दराजभित्र झोलामा रगत लतपतिएको महिला पुरुष दुवैका कपडा भेटिए। त्यसपछि प्रहरीले सियारामको सामान्य मृत्यु नभई हत्या भएको निचोड निकाल्यो। हत्या गर्न सक्ने पहिलो पात्र उनकी श्रीमती नै अगाडि परिन।
सोधपुछ गर्दा श्रीमती उनले श्रीमानको हत्या गरेको स्वीकारिन्। प्रहरीका अनुसार बिहीबार बिहान दम्पत्तिबीच विवाद भएको थियो। सोही रिसमा दिउँसो श्रीमान सुतेका बेला इँटाले टाउकोमा हानेर हत्या गरेको उनको बयान छ।
जनककुमारीलाई श्रीमानको हत्या आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्स्पेक्टर भाष्कर चन्दले बताए।