दुर्गा प्रसाईँको गिरोहद्वारा आसाममा वसेर नेपाली ब्यवसायी र कर्मचारीलाई धम्की

काठमाडौँ– साईबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले कथित भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम गिरोह नै बनाएर व्यवसायी तथा कर्मचारीलाई धम्क्याउँदै चन्दा संकलन गरेको खुलासा भएको छ।

प्रसाईको गिरोहले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई समेत पटकपटक फोन गरेको फेला परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अनुसन्धान अधिकृतले जानकारी दिए। उनका अनुसार, राष्ट्र बैंकका उच्च अधिकारीलाई पटकपटक फोन गरेपनि सुरुमा उठेको थिएन। त्यसपछि उनका सहयोगीहरुलाई समेत फोन गरेर धम्की दिइएको थियो।

पछि ती अधिकारीले पनि गिरोहसँग कुराकानी गरेको खुलेको छ। गिरोहले भारतीय नम्बरबाट फोन गरेर राष्ट्र बैंकका अधिकारीहरूलाई प्रसाईंलाई सहयोग गर्न र कतिपयको ऋण मिनाहा गरिदिन दबाब दिएको पाईएको छ।

त्यसरी फोन गर्ने झापा चारआलीका ३६ वर्षीय नविन प्रधान (हरिचन्द्र फुयाँल) लाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर ल्याएपछि सोधपुछमा क्रममा प्रसाईको करतुत खुलेको हो। प्रसाईंको निर्देशनमा बैंकका कर्मचारी, व्यवसायी लगायतलाई फोन गरेको उनले खुलासा गरेका छन्।

फुयाँलले भारतीय सिमकार्डबाट नेपालमा विभिन्न व्यवसायी र कर्मचारीलाई ११३ पटक फोन गरेको खुलेको छ भने प्रसाईंसँग भने ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको प्रहरीले फेला पारेको छ। उनले आफूलाई भारतीय जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोई समूहको सदस्य भएको बताउँदै प्रसाईंको अभियानलाई चन्दा सहयोग गर्न भन्ने गरेका थिए। फुयाँलको भारतमा आधार कार्ड समेत रहेको फेला पारेको छ।

उनीविरुद्ध सुनसरीमा बैंकिङ कसुरको आरोपमा मुद्दा चलेको १ लाख ४० हजार रुपैयाँ धरौटी बुझाएर १३ असार २०८१ मा छुटेको फेला परेको छ। त्यो मुद्दा अझै किनारा लागिसकेको छैन। यसैगरी, उनी ठगी आरोपका फरार अभियुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ। झापाको इलाका प्रहरी कार्यालय, धुलाबारीले उनी विरुद्ध मुद्दामा चलाएको छ।

यो खुलासासँगै सीआईबीले प्रसाईमाथि मुलुकी अपराध संहिता अन्तरगतको आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान थालेको छ। कम्बोडियाको टेलीकममा प्रधानमन्त्री केपी शर्मा ओलीको अवैद्य लगानी रहेको आरोप लगाएपछि प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ। हाल प्रसाईं सर्वोच्च अदालतको आदेशपछि ललितपुरस्थित हरिसिद्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट