रंगशाला स्तरोन्नतीका लागि राजविराजमा सांस्कृतिक तथा व्यापारिक महोत्सवको आयोजना
राजविराज– दशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरी सप्तरी सदरमुकाम राजविराजमा सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ।
राजविराजस्थित राजरंगशालाको जिर्णोद्वार तथा मर्मतसम्भारको उदेश्य राखि सप्तरी युथ नेपालले महोत्सवको आयोजना गरेको हो। महोत्सव राजरंगशालामा कात्तिक ११ देखि २६ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा चर्चित कलाकारहरु ल्याएर नृत्य तथा गायन प्रस्तुतीहरु प्रदान गरिने छ भने भोजपुरी सिनेमाका स्टार कलाकार अक्षरा सिंहसमेतलाई सहभागि गराईने छ।
सांस्कृति, पर्यटन, कृषि र व्यापारिक महत्वका करिब ३० वटा स्टल रहने महोत्सव स्थलमा सेल्फी स्पोर्ट ब्यवस्था गरिने र प्रत्येक दिन दिउँसो दुई बजेदेखि सांस्कृतिक कार्यक्रम हुने आयोजनक संस्था सप्तरी युथका उपाध्यक्ष मोहनकुमार यादवले वताए।
महोत्सवमा १ लाखभन्दा बढी सर्वसाधारण सहभागि हुने र करिब ५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ। करिब ४६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवमा प्रवेश शुल्क बापत ५० रुँपैयाको टिकटको ब्यवस्था गरिएको छ।
महोत्सवबाट उठेको आम्दानीबाट खर्च कटाएर रंगशालाको स्तरोन्नती गरिने उदेश्य राखिएकाले कसैका लागि पनि पासको ब्यवस्था नगरिएको आरोजक संस्थाले जनाएको छ।