अपराधका अनेक रुपः दाजुवहिनी नै मिलेर हनिट्रयापको धन्दा, नक्कली भाउजुसहितको गिरोह पक्राउ
काठमाडौँ– ‘घाउ ड्रेसिङ गर्नुपर्ने छ’ भनेर भक्तपुरका एक फार्मेसी सञ्चालकलाई आफ्नै डेरामा बोलाई हनिट्रयापमा पार्ने दाजुवहिनीसहित गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। गिरोहमा संलग्न एक जना फरार छन्।
उनीहरुले भक्तपुरको राधेराधे नजिकै किशोरीको डेरामा बोलाएर बलात्कार मुद्दामा फसाई दिने धम्की दिई ३३ वर्षीय फार्मेसी सञ्चालक युवकसँग रकम असुल गरेको फेला परेको छ। सोही आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले इलाम घर भई नयाँथिमी बस्ने २५ वर्षीया समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका घर भई स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी र २५ वर्षीया वर्षा दर्जीलाई पक्राउ गरेको हो।
पक्राउ परेका दीपेन्द्र र वर्षा दाजुबहिनी हुन्। समृद्धि भने वर्षाको नक्कली भाउजु बनेर गिरोहमा सकृय थिईन। उनीहरूलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बाट पक्राउ गरिएको हो। फार्मेसी सञ्चालक युवकलाई वर्षाले नै डेरामा बोलाएकी थिईन। हनिट्रयाप धन्दा सञ्चालन गर्नकै लागि उनीहरुले त्यहाँ कोठा भाडा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अनुशन्धान अनुसार अनलाइनमार्फत घरमा ‘डेसिङ्ग सेवा’ दिँदै आएका युवकलाई वर्षाले ‘मेरो खुट्टाको घाउ ड्रेसिङ गर्नुछ, भक्तपुरस्थित राधेराधेमा आउनुस्’– भन्दै अनलाईनबाट खबर गरेकी थिईन। ६ मङ्सिरमा ती युवक स्कुटर लिएर राधेराधेस्थित उनले बोलाएको ठाउँमा पुगेका थिए।
त्यहाँ पुगेपछि उनले ‘खै कसको ड्रेसिङ गर्नुपर्ने हो?’ भन्दै सोधे। वर्षाले ‘मेरो हैन एक जना बुढी आमाको हो, यता डेरामा बस्दै गरौँ।’ भन्दै युवकलाई डेरामा लिएर गईन। त्यसको केही बेरमा समृद्धि आएर ‘मेरो नन्दलाई बलात्कार गर्न खोज्ने?’ भन्दै आरोप लगाएकी थिईन। त्यसपछि भने युवकले आफु फसेको सुईको पाएका थिए।
यति हुने वित्तिकै उनी त्यहाँबाट हिडे। तर, वर्षा, दीपेन्द्र र समृद्धि तीनै जना युवकको फार्मेसीमै पुगे। उनीहरुले त्यहाँ पुगेर युवकलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै डर देखाए। लेनदेनमा कुरा मिलाउन दबाब दिए। युवक पनि लेनदेनमा कुरा मिलाउन सहमत भएपछि १८ लाखका लागि बार्गेनिङ गरेको खुलेको छ। अन्त्यमा ८ लाख लिने सर्तमा कुरा मिलाएर ५० हजार नगद र ७५ हजारको चेक लिईसकेको फेला परेको छ। पीडितसँग भक्तपुरको कौशलटारस्थित वेभ सेकुवा कर्नरमा लेनदेन भएको थियो।