कालिमाटीमा उदयपुरकी जानुकाको मृत्यु प्रकरणः सुरुवाल खुलेको अवस्थामा भेटिएको थियो शव
काठमाडौँ– ७ मंसिरको बिहान कालीमाटीस्थित संगीतकारमार्गमा एक महिलाको शव भेटियो। नाम, ठेगाना केही नखुलेकी महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा सीसीटीभी फुटेजमा एक युवकले ती महिलालाई बोकेर त्यहाँ फालेको देखियो।
युवकले लगाएको चप्पल, ट्राउजर र ज्याकेटका आधारमा अनुसन्धान गर्दा बझाङको बित्थडचिर गाउँपालिका– ९ घर भई कालीमाटीस्थित तरकारी बजारमा सामान लोड–अनलोड गर्ने २२ वर्षीय कविन्द्र मल्ल पक्राउ परे।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीद्वारा ८ मंसिरमा कुलेश्वरबाट पक्राउ परका उनी मादक पदार्थ र लागु औषध प्रयोगकर्ता रहेको खुलेको छ। एक अनुसन्धान अधिकृत भन्छन्–‘केही समय काम गरेपछि ५÷७ सय आउने, उक्त रकम नसकिएसम्म काम नगर्ने। त्यसपछि पाकेट मार्ने, चोरी गर्नेलगायतका सवै उपद्रो गर्नेरहेछ।’
मल्लले फुटेजमा देखिएको व्यक्ति आफू नै भएको प्रहरीसमक्ष स्वीकार गरेका छन्। तर, अन्य घट्ना विवरण आफुलाई थाहा नभएको उनको भनाई छ। ‘त्यस राति म मदिराको नसामा थिएँ। घट्ना के–के भयो मलाई कुनै जानकारी छैन। तर, फुटेजमा भएको ब्यक्ति म नै हो।’– उनले प्रहरी समक्ष भनेका छन्।
प्रहरी अनुशन्धान अनुसार मृतक महिला उदयपुरकी ४५ वर्षीया जानुका सुर्खेती भएको पत्ता लागेको छ। मदिरा सेवन गर्ने र आफूखुसी बसोबास गर्दै हिंड्ने गरेककी उनी ६ मंसिरको राति ८ बजेदेखि ११ बजेसम्म सडक वरपर हिंडेको सीसीटीभी फुटेजमा देखिन्छ। ११ बजेपछि भने सडकमा सुतेको जस्तो देखिएको छ।
त्यसको करिब ४ घण्टापछि ७ मंसिरको बिहानीपख (३ बजेर १७ मिनेट जाँदा) हाल पक्राउ परेका मल्लले ती महिलालाई बोकेर बाटो पार गरेको देखिएको छ। त्यस क्रममा उनी एउटा साइकलसँग झण्डै ठोक्किएका छन्। करिब ४–५ मिनेटको पैदल बाटो हिडेपछि उनले महिलालाई छोडेको देखिएको छ। त्यस वेला महिला जिउँदै थिईन वा मरिसकेकी थिईन भन्ने खुलेको छैन।
महिलाको शव भएको ठाउँ सीसीटीभी क्यामराको कभरेज एरिया होईन। त्यसैले मल्लले महिलालाई के गरे भन्ने खुलेको छैन। तर, उनको बलात्कारपछि हत्या भएको प्रहरीको अनुमान छ। मृत भेटिएकी महिलाको सुरुवाल खुल्लै रहेकाले बलात्कार भएको हो कि भन्ने आशंकाका आधारमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।
पटके अपराधी
प्रहरी अनुशन्धानमा मल्ल पटके अपराधी भएको खुलेको छ। प्रहरीको प्रहरीको सीआरएस ( क्रिमिनल रेकर्ड सिस्टम) अनुसार उनी ९ पटक मुद्दा चलेका र ४ वर्षको अवधि (०७७ देखि अहिलेसम्म)मा १० पटक प्रहरी हिरासत पुगिसकेका व्यक्ति हुन।
उनी ९ कात्तिकमा डाँका चोरीको कसुरमा पक्राउ परेर ६ मंसिरमा छुटेका थिए। छुटेकै राती उनी अर्को अपराधमा संलग्न भएको देखिएको छ। पहिलो पटक उनलाई १२ चैत २०७७ मा प्रहरी वृत्त जनसेवाले पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको थियो।
दोस्रो पटक १३ वैशाख २०७८ मा र तेस्रो पटक २१ भदौ २०७८ मा प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेर मुद्दा चलाएको थियो भने ७ वैशाख २०७९ मा बझाङबाट पनि उनी विरुद्ध मुद्दा चलेको थियो। त्यसपछि ५ असार २०७९ कालीमाटी, ९ जेठ २०८० मा प्रहरी वृत्त, १२ भदौ २०८० मा र ३ वैशाख २०८१ मा प्रहरी वृत्त कालीमाटीले नै पक्राउ गरेर उनी विरुद्ध मुद्दा चलाएको थियो। उनी हरेक पटक सामान्य धरौटीमा छुट्दै आएका थिए।
अहिले भने उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।