एसओएस हर्मन माइनरमा तीनदिने योग प्रशिक्षण सम्पन्न 

सुनसरीको इटहरीस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले विद्यार्थीलक्षित योग प्रशिक्षण सम्पन्न गरेको छ । पतञ्जलि योग समिति इटहरीको सहकार्यमा उक्त प्रशिक्षण भएको हो ।

 

गत आइतबार सुरु भएको प्रशिक्षण कार्यक्रममा विद्यालयका कक्षा ४ देखि ८ सम्मका विद्यार्थी लाभान्वित भएका थिए । विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक शशीकुमार उपाध्यायले बताए ।

पतञ्जलि योग समिति इटहरीकी अध्यक्ष उर्मिला कटुवाल तथा महासचिव यादव सिग्देललगायत टोलीले प्रशिक्षण गराएको थियो । कक्षागत रूपमा गरिएको प्रशिक्षण शिविरमा करीब २५० विद्यार्थी सहभागी भएका थिए ।

विद्यार्थीहरूले प्रशिक्षणसँगै यसको पाठ्यक्रम पनि अवलोकन गरेका थिए । हाल विद्यालयस्तरमा अनिवार्य विषयका रूपमा स्वास्थ्य तथा शारीरिक शिक्षा सञ्चालनमा रहे पनि योगबारे पर्याप्त पाठ्यक्रम नरहेको प्रशिक्षकहरूको धारणा थियो ।

कार्यक्रमको अन्तिम दिन मङ्गलबार एसओएस बालग्राम इटहरीका निर्देशक तथा विव्यस अध्यक्ष देवचरण चौधरीले प्रशिक्षकहरूलाई मायाको चिनोसहित सम्मान गरेका थिए ।

गुणस्तरीय शिक्षाका लागि इटहरीमा रोजाइमा पर्ने गरेको एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरी एसओएस बालग्राम नेपालको विशेष परियोजनाका रूपमा सञ्चालित छ ।

बालग्राम विशेष गरी अभिभावक गुमाएका र गुमाउने जोखिममा रहेका बालबालिकाको हेरचाहका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था हो । हाल हर्मन माइनर विद्यालय देशभर ७ वटा सञ्चालनमा रहेका छन् भने इटहरीमा बालग्राममा आश्रित १५० र समुदायका ५०० जना गरी करीब ६५० जना अध्ययनरत छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट