रवि र निकिताको नामबाट ५० करोडमाथिको कारोबार, अमेरिकाबाट आएको पैसा सहकारीकै पनि हुन सक्ने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलको नामबाट कम्तिमा ५० करोड रुपैयाँ बराबरको अस्वभाविक कारोबार भएको विवरण फेला परेको छ।

त्यो कारोबार मध्ये केही रकम ०७९ सालको निर्वाचन र चितवनमा भएको उपनिर्वाचनका समयमा अमेरिकाबाट आएको भेटिएको छ। सहकारी ठगी प्रकरणमा निकिता छानविनको दायरामा नआएपछि प्रहरीले सम्पति शुद्धिकरणमा तानेर उनको बारेमा जाँच गरिरहेको छ।

छानविनका क्रममा रवि र निकिताको खाताबाट स्रोत नखुल्ने थुप्रै कारोवारहरु भएको फेला परेका छन्। खास गरी उनीहरुको खातामा विदेशबाट आएको रकमलाई प्रहरीले अस्वभाविक मानेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा अनुसन्धान गरिरहेका चार प्रहरी युनिट स्रोतले हालसम्म करिब ५० करोड रुपैयाँ बराबरको कारोबार भेटिएको जानकारी चुहाएका छन्।

स्रोतका अनुसार रविको खातामा ३५ करोड र निकिताको खातामा १५ करोड रुपैयाँ कारोबार भएकोबारे जाँच भइरहेको छ। सीआईबी स्रोतका अनुसार खासगरी चितवन–२ मा उपनिर्वाचन भएको आसपासको समयमा अमेरिकाबाट निकिता पौडेलको खातामा ठूलो रकम ट्रान्सफर भएको देखिएको छ।

पौडेलको खातामा अस्वभाविक रकम भेटिएपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गृहमन्त्री रमेश लेखक, महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरु, नेपाल राष्ट्र बैंक लगायतलाई ब्रिफिङ गरिसकेका छन्।

महान्याधिवक्ता कार्यालय स्रोतका अनुसार, अहिलेसम्म प्राप्त प्रमाण हेर्दा निकिता पौडेलको कारोबारलाई विस्तृत रुपमा केलाउने र संलग्नहरुको भूमिकाबारे अनुसन्धान गर्न सुझावसहितको निर्देशन दिइएको छ।

सम्पत्ति शुद्धीकरणको मामलामा अनुसन्धान गरिरहेका अधिकृतहरुले निकिता पौडेलको खातामा आएको रकम दुई कारणले आएको हुन सक्ने अनुमान गरेका छन्। पहिलो, चितवन–२ को उपनिर्वाचनमा निर्वाचन सहयोगको आवरणमा अमेरिकाबाट रकम भित्र्याएको। दोस्रो, सहकारीमा दुरुपयोग गरेको रकम व्यवस्थापन भएर शुद्धीकरण गरी खातामा आएको हुनसक्छ।

अहिलेसम्मको विवरण ग्लोबल आईएमई र कुमारी बैंकको खाताको मात्रै हो। अन्य खाताको जाँच बाँकी नै छ। लामिछानेले चितवन–२ बाट चुनाव लडेका थिए। त्यहाँ निर्वाचन आयोगले खर्चको सीमा २९ लाख रुपैयाँ तोकेको थियो। तर, निर्वाचनको समयमा लामिछानेले वेग्लै खाताबाट अतिरिक्त खर्च गरेको फेला परेको छ। उनले चुनाव प्रचारको प्रयोजनका लागि छुट्टै खाता खोलेर कारोबार गरेको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले वताएका छन्।

अव निर्वाचन कसुरमा पनि लामिछाने विरुद्ध छानबिन हुने ती अधिकृतले वताए। जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको ऋण तिर्न लामिछानेले काटेका चेकहरु पनि बरामद गरेको थियो।

लामिछानेकी पत्नी निकिताले भने आफू र सभापति लामिछानेविरुद्ध अनावश्यक भ्रम फैलाउन खोजिएको प्रतिक्रिया दिएकी छिन्। उनले हाल चर्चामा रहेको विवरणमा सत्यता नभएको अनलाईन मिडियामा प्रतिक्रिया जनाएकी छिन्। कुनै पनि मुलुकबाट आफूहरुको खातामा रकम नआएको उनको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट