रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै, त्यसपछि चितवन लगिने
काठमाडौँ– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पक्राउ परेर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा समेत अनुसन्धान भइरहेको समयमा काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीमा पनि संलग्न रहेको पाइएपछि अनुसन्धानका लागि आज उनलार्य ल्याउने तयारी भएको हो।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न सहकारीका अध्यक्ष जीबी (गीतेन्द्रबाबु) राई, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व डीआईजी छबिलाल जोशी र लामिछानेसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
प्रहरी वृत्त कालीमाटीमा परेको जाहेरी जिल्ला प्रहरी परिसरले झिकाएर अनुसन्धान गरिरहेको छ। कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई आज काठमाडौं ल्याउन लागिएको हो। कास्कीको हिरासतमा रहेको समयमा नै लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान लिएको थियो।
चितवनको साहारा सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवनमा पनि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। उनीमाथि यसपश्चात चितवनमा अनुसन्धान हुने जनाईएको छ।