तानाशाही प्रवृत्तिले निरास भएर केन्द्रीय नेताले नै भटाभट छोड्न थाले सीके राउतको साथ
जनकपुर— डा. सीके राउतको एकलौटीपन र तानाशाही प्रवृत्तिले निरास भएर जनमत पार्टीका केन्द्रिय नेताहरुले नै धमाधम पार्टी छोड्न थालेका छन्। सोमबार मात्रै पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सहइन्चार्ज मुकेश द्विवेदीले पार्टी छोडेको घोषणा गरे।
उनले जनमत पार्टीभित्रको नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। ‘हाम्रो उद्देश्य जनताको भावना प्रतिनिधित्व गर्नु हो, जनमतको नेतृत्वले त्यो उदेश्य पुरा गर्ला जस्तो लागेको थियो। तर, आफैंलाई सर्वोपरी ठान्ने प्रवृत्तिले ग्रस्त भएपछि त्यहाँ वसिरहनुको अर्थ रहेन’ उनले भनेका छन्–‘अध्यक्ष सिके राउतको एकलौटीपन र तानाशाही प्रवृत्तिले निरास भएर पार्टी छोड्ने निर्णयमा पुगेँ।’
द्विवेदी जसपामा प्रवेश गरेका छन्। सोमबार पर्साको वीरगञ्जमा आयोजित कार्यक्रममा जसपाका उपमहासचिवसमेत रहेका खानेपानीमन्त्री प्रदीप यादवले उनलाई पार्टीमा स्वागत गरे। उनीसँगै जनमतका जिल्ला सचिव शशी पाण्डे, वीरगञ्ज महानगर कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशीभूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक राजु तिवारी र वीरगञ्ज महानगरपालिका– १ का ईकाइ सभापति चन्दन साह कानु जसपामा प्रवेश गरेका छन्।