मेडिसिटी अस्पतालले विरामीको मिर्गौला बेपत्ता पारेको आरोप, यस्तो छ घट्नाक्रम
काठमाडौँ– ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालले उपचारका लागि भर्ना भएका विरामीको मिर्गौला वेपत्ता पारेको आरोप लागेको छ।
६ असोजमा मिर्गौला प्रत्यारोपण गरिएका इलामको चुलाचुली गाउँपालिका–४ का ३८ वर्षीय सरोज सुब्बा (लिम्बू)को १ मंसिरमा मृत्यु भएपछि उनका आफन्तले यस्तो आरोप लगाएका हुन।
मृतकका आफन्त कुमार राईका अनुसार मिर्गौला प्रत्यारोपण गरेको एक सातापछि उनको डिस्चार्ज भयो। तर, हप्ता–हप्ता दिनमा फलोअप उपचार गराउँनु पर्थ्यो। तर, केही दिनमै पिसाबबाट रगत जाने, आँखा नदेख्ने, खुट्टा राम्रोसँग टेक्न नसक्ने समस्या देखियो।
यो समस्या झन बढ्दै गयो। २१ कात्तिकमा अस्पताल पुगेका लिम्बूको मिर्गौलामा इन्फेक्सन देखिएको भन्दै चिकित्सकले प्रत्यारोपण गरेको मिर्गौला निकाले। मिर्गौला वेपत्ता पारेको आरोप यहीँबाट सुरु भएको छ।
आफुहरुसँग सल्लाह नै नगरी सरोजको मिर्गौला झिकेको र हालसम्म मिर्गौलामा इन्फेक्सन कसरी भयो भन्ने रिपोर्ट अस्पतालले नदिएको आफन्तको दाबी छ। कुमारका अनुसार मिर्गौला झिकेपछि अस्पताल नजिकै डेरा लिएर सरोजले डायलाइसिस गराउन थाले।
यो क्रम चलिरहेका वेला ३० कात्तिकमा एक्कासी उनको स्वास्थ्य विग्रियो। आफन्तले राती नै उनलाई अस्पताल पु¥याए। तर, अस्पतालले समयमा समयमा उनको उपचार नै गरेन। विशेषज्ञ डाक्टरसँग सल्लाह गर्नु पर्छ भन्दै राति ३ बजे लगिएका उनलाई विहान ११ बजे मात्रै आईसीयूमा लगियो।
त्यसपछि उपचारकै क्रममा १ मंसिरमा उनको मृत्यु भयो। आरोप लगाएका छन्। अव आफन्तले चिकित्सकले उपचारमा लापर्वाही गरेर र सहमति विना मिर्गौला झिकेर वेपत्ता पारेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन्।
‘विरामीको मृत्यु भएपछि सहमति गरौं भन्दै आएका छन्’ कुमार भन्छन्–‘डाक्टरले कित उपचारमा गल्ति गरे, कित मिर्गौला बेचेर खाए।’ चित्तबुझ्दो जवाफ र उचित क्षतिपूर्ति नपाएसम्म लास नउठाउँने उनले वताए। सरोजको उपचारमा झण्डै २५ लाख रुपैयाँ खर्च भएको आफन्तको भनाइ छ।
उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भने आफन्तले लगाएको आरोप अस्विकार गरेका छन्। उनी मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको बताउँछन्। एक्कासी मिर्गौलाबाट रगत बग्न थालेको मिगौलामा जोडिएको नली फुटेपछि त्यसको अपरेशन गरेर जोगाउन खोज्दा सम्भव नभएको उनले बताए। उपचारमा लापबाही नभएको उनको दावी छ।