मोरङमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

विराटनगर– मोरङको पथरीशनिश्चरे नगरपालिका–२, सुनझोडा पुलमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा शनिबार दिउँसो २ जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग भएर पश्चिमतर्फ जाँदै गरेको मिक्स गिट्टी बोकेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्व जाँदै गरेको को२०प ६०७ नम्बरको मोटरसाइकललाई दिउँसो करिव साढे २ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का निश्चल आङदम्बे (१८) र पछाडि सवार पथरीशनिश्चरे–२ का प्रितम गौतम (४८) को मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको थियो।

उपचारकै क्रममा दिउँसो दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए। प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का सुरेश राई (३५) लाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मोटरसाइकल क्षतिग्रस्त अवस्थामा छ।

टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग गरेको पत्ता लागेको प्रहरीको भनाइ छ। टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट