बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथिः ६ सन्तान लाखापाखा, २२ वर्षदेखि एक्लै परेकी वृद्धाको हत्या
काठमाडौँ– बुधबार साँझ करिव ५ बजे भक्तपुर प्रहरीमा भक्तपुर नगरपालिका–३, इच्छुगल्लीकी ९४ वर्षीया वृद्धा विष्णुकुमारी त्वयनाको हत्या भएको खबर आयो। प्रहरी पुगेर हेर्दा वृद्धाका दुवै खुट्टा बाँधीएका थिए। मुखमा कपडा कोचेर सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा उनको शव फेला पर्यो।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको भक्तपुर दरबार स्क्वायर परिसरभित्रै एउटा पुरानो घरमा बस्दै आएकी महिलाको हत्या भयो भनेर अहिले पनि त्यहाँका मानिसलाई पत्याउन गाह्रो भईरहेको छ।
नेपाली समाजमा एउटा उखान छ–‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधमाथि।’ वृद्धाको हत्या प्रकरण हेर्दा यो उखान उनको जिवनमा मेल खाल्छ। प्रहरीका अनुसार विष्णुकुमारीका ६ जना सन्तान (४ छोरा २ छोरी) छन्। सबैको विवाह भइसकेको छ। उनीहरु अंशबण्डा गरी लाखापाखा लागे। घरमा उनी २२ वर्षदेखि एक्लै बस्थिन्, आफ्नो लागि खानेकुरा आफैं बनाउँथिन्। प्रायः घरमै बसेर दिन बिताउने उनी घरभित्रै मारिइन्।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीका अनुसार, घरको चौथो तलामा महिला मृत अवस्थामा भेटिएकी हुन। तल्लो तलामा तरकारी पसल गर्ने, र थांका व्यवसायीलाई भाडामा दिएको छ।
उनलाई अन्तिम पटक कान्छी बुहारी माया त्वयनाले भेटेकी थिइन। त्यो पनि अघिल्लो दिन। भोलीपल्ट विष्णुकुमारी मृत अवस्थामा देखेपछि उनले नै श्रीमानलाई खबर गरिन र प्रहरीले सूचना पायो। उनका अनुसार, त्यसबेला विष्णुकुमारीको खुट्टा बाँधिएको अवस्थामा थियो, मुखमा कपडा कोचिएको थियो। प्रहरीका अनुसार, पुरानो पेटिकोट च्यातेर खुट्टामा बाँधेको जस्तो देखिएको छ।
कान्छी छोरी माया दुवालका अनुसार, घरमा बत्ती बिग्रिएपछि मंगलबार बेलुका मर्मतका लागि दुई जना मानिस घरमा गएका थिए। सोही राती उनको हत्या भएको हो। उनीहरुसँग प्रहरीले सोधपुछ गरिरहेको छ। तर, हत्यारा को हो ? भन्ने अहिलेसम्म खुलेको छैन।
परिवारका अनुसार विष्णुमायाले घाँटीमा झुण्ड्याउने गरेको पैसा राख्ने थैली हराएको छ। उनले लगाएका करिव आधा तोलाका दुईवटा मुन्द्रा पनि गायब छन। मुन्द्रा र त्यही थैलीमा भएको पैसाका लागि उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
यद्यपि विष्णुकुमारीको व्यवहार एकदमै रुखो भएकाले हत्या पछाडि अरु पनि कारण हुनसक्ने छिमेकीहरु बताउँछन्। हत्यामा चिनजानकै ब्यक्तिको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ।