कैलालीमा प्रहरीको उपस्थितीमै ‘पत्रकारलाई बाख्रा चोरेको कबुल गराएर’ भोलीपल्ट कुटेर हत्या
काठमाडौंँ– कैलालीको गौरीगंगा नगरपालिका–११ का पत्रकार सुरेश भुल (३०) माथि २४ कात्तिकमा बाख्रा चोरेको आरोप लगाउँदै स्थानीय केही ब्यक्तिले कुटपिट गरे। कुटपिटबाट गम्भिर घाईते भएका उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा २६ कात्तिकमा मृत्यु भयो।
भुलको हत्या आरोपमा प्रहरीले स्थानीय जंगबहादुर भुल (५५), बिस्ना भुल (४५), रमा रावल (३८), दिनेश विक (३१), धर्म विक (३१), विशाल विक (२८), रमेश रावल (२७) र दिनेश भुल (१९) लाई पक्राउ गरेको छ। घटनामा संलग्न भएको आरोप लागेका एक जना फरार छन्।
पक्राउ परेकाहरूविरुद्ध कैलाली जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको कैलाली प्रहरीका एसपी पदमबहादुर विष्टले बताए।
प्रहरीका अनुसार २० कात्तिकमा गौरीगंगा–११ कान्तिपुर टोलकी बिस्ना भुलको बाख्रो हरायो। हराएको बाख्रो खोज्दै जाँदा २३ कात्तिकमा पत्रकार भुलको घरमा बाँधिएको भेटियो। भुलले सुरुमा उक्त बाख्रो आफुले किनेर ल्याएको दाबी गरे। तर, उनका आफन्तले नजिकै रहेको मेडिकल पसल अगाडि बाख्रो बसेको देखेपछि सुरेशले उक्त बाख्रो बाँधेको बताए।
त्यसपछि बाख्राधनीले चोरी गरेको भन्दै प्रहरी चौकी मुसरियामा उजुरी दिए। प्रहरीले दुवै पक्षलाई राखेर छलफल गरायो। छलफलमा बाख्रो भुलले राख्ने र बाख्राधनी बिस्नालाई ३० हजार नगद दिने सहमति भयो।
तर सुरेशले रकम दिन ढिलो गरेको भन्दै आक्रोशित भएर कुटपिट गरेको खुलेको छ। यता, सुरेशका आफन्तले भने ३० हजारको सहमति गरेर भोलीपल्ट १ लाख माग्दै कुटपिट गरेको आरोप लगाएका छन्। प्रहरीले भने आफुहरुको उपस्थितीमा सहभाति नै नभएको दावी गरेको छ।
यता, कुटपिटपछि अस्पताल भर्ना भएका सुरेशले साथीहरूसँग म्यासेजमा आफूमाथि प्रहरीसहितको मिलेमतोमा अन्याय भएको बताएका थिए। ‘पुलिसहित मिलेका छन्, मसुरियाको। मेरो ठाउँमा कोही पनि भएन। वडाध्यक्षसहितको मिलेमतोका भएको हो यो सबै।’– उनले पत्रकारको ह्वाट्सएप ग्रुपमा लेखेका छन।
उनले भोली जिल्ला अदालत जाने कुरा त्यहाँ उल्लेख गरेका थिए। तर, भोली विहान हुन नपाउँदै उनको मृत्यु भयो।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष योगेश रावलले सुनियोजित रुपमा पत्रकार भुलको हत्या भएको वताएका छन्। विभिन्न कार्यालयहरुमा गएर सूचना माग्ने र भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएका भुलको नियोजित ढंगले हत्या गरिएको उनको भनाई छ।
‘विवादको विषय बाख्रा हराएको र भेटिएकोबाट सुरू भएपनि मरणासन्न हुनेगरि कुटपिट गरेको विषय त्यो होइन। बाख्राको विषय सहमति भइसकेपछि हुल बाँधेर कुटपिट गर्नु भनेको नियोजित ढंगले हत्या गरिएको हो’ उनले भनेका छन्। कुटपिटमा संलग्नहरू बाख्रा धनीसँग सरोकार नराख्नेहरू समेत रहेकाले घट्ना थप शंकास्पद रहेको उनको भनाई छ।
मृतक भुल सुदूरपाटी अनलाइनमा कार्यरत थिए।