एउटा कोठामा २ सन्तान र श्रीमतीको शव अर्को कोठामा बसेका श्रीमानले १५ दिनसम्म कसरी पत्तो पाएनन् ?
काठमाडौँ– काठमाडौँको गोकर्णेश्वर–३, कुमारी गाम्छामा शुक्रबार २ बालक सन्तानसहित ३३ वर्षीया आमा मृत फेला परेको घट्ना आश्चर्य जनक देखिएक छ। घरमै एउटा कोठामा श्रीमती र छोराछोरी १५ दिनदेखि मृत अवस्थामा रहेको कुरा अर्को कोठामा रहेका श्रीमानले कसरी पत्तो पाएनन्? भन्ने जिज्ञासा धेरैलाई छ।
प्रहरीका अनुसार श्रीमती सीता दंगाल नगरकोटी, छोरी अंशु मोक्तान (१५) र छोरा (२ महिने बालक) दुई सातादेखि हराइरहेको भन्दै गत विहिबार कान्छा नगरकोटी (४९) प्रहरीमा निवेदन दिन पुगेका थिए।
कान्छाले दिएको निवेदनअनुसार श्रीमती, छोरा र छोरी १६ कात्तिकदेखि सम्पर्कविहीन भएका थिए। कान्छाले प्रहरीलाई दिएको वयानमा सीता उनीसँग झगडा गरेर छोराछोरी लिएर घरबाट निस्किएकी थिईन।
त्यसपछि ‘कतै गइन् होला’ भन्ने सोचेर आफुले पहिला खासै चासो नदिएको उनको भनाई छ। ‘कोठा पनि बाहिरबाट बन्द भए जस्तो थियो। उनीहरु कोठामै छन् भन्ने शंका नै भएन’ उनले प्रहरी समक्ष भनेका छन्।
खोजतलासका क्रममा घरको एउटा कोठाबाट नराम्रो गन्ध आइरहेको पनि उनले सुनाए। सोही सूचनाका आधारमा प्रहरी शुक्रबार उनको घरमा पुगेको थियो। कोठाको ढोका भित्रैबाट वन्द थियो। प्रहरीले खोलेर हेर्दा तीनै जनाको शव कुहिन थालेको अवस्थामा भेटियो।
प्रहरीका अनुसार कान्छा र सीताकाबीचमा यसअघि पनि पटकपटक झगडा हुने गरेको पाईएको छ। प्रहरी नै पुगेर उनीहरुको झगडा मिलाउनु परेको समेत अनुशन्धानमा खुलेको छ। ‘विगतमा पनि झगडापछि दुवै जना घर छोडेर हिँड्ने गरेका रहेछन्’ एक अनुशन्धान अधिकृत भन्छन्–‘कान्छा आफैं पनि आवारा खालका र घरमा पनि कमै आउँने गरेको देखिएको छ।’
घट्नाको प्रकृति हेर्दा हत्या वा आत्महत्या जस्तो नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान छ। एक अनुशन्धान अधिकृतले कोठाभित्र झ्याल ढोका लगाईएको र भित्र मकलमा आगो बालेको अवस्था छ। सोही मकलको तातो कोठामा फैलिएर अक्सिजन अपुग भई उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
यद्यपी, उनीहरुको मृत्यु कसरी भयो भन्ने विषय प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार कान्छा सीताले दोस्रो विवाह गरेका हुन। छान्छा सीताको दोस्रो श्रीमान हुन भने सीता पनि कान्छाकी कान्छि श्रीमती हुन।