६ पटकका मन्त्रीलाई तरबार काण्डले फेरी पुर्यायो जेल, कम्फर्ट हाउजिङमा लुकेका मनाङे पक्राउ
काठमाडौँ– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले काठमाडौँको सानो भ¥याङबाट आज पक्राउ गरेको छ।
मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। सीआईबी प्रमुख एआईजी दीपक थापाले मनाङेलाई अदालतको फैसला कार्यान्वयनका लागि उपस्थित गराइने बताए।
सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको २० कात्तिकको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो।
पाटन अदालतले मनाङेलाई ५ साउन ०६९ मा ५ वर्ष कैद सजाय सुनाएको थियो। त्यो फैसलालाई सर्वोच्चले पनि सदर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो।
उक्त घटनामा मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भयो। जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो। गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले सफाइ पाए।
त्यो फैसलाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौँले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेको थियो। अदालतले ०६९ मा ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर ग¥यो।
सरकारी वकिलको कार्यालय ती जनालाई पनि सजाय मागगर्दै सर्वोच्चमा पुनरावेदन गर्यो। ०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो।
पाटन अदालतको फैसलापछि मनाङे पक्राउ परे। १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भए। सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई पटक चुनाव जितेर ६ पटक मन्त्री पनि भए।