पोखरामा एमाले जनप्रतिले नगरप्रहरीको अण्डकोषमा हिर्काए, घाईते प्रहरीको हिजो भयो शल्यक्रिया
पोखरा– पोखरा महानगरपालिकाका जनप्रतिनिधिको आक्रमणमा परी एक जना नगर प्रहरी गम्भिर घाईते भएका छन्। एमाले जनप्रतिनिधिले अण्डकोषमा प्रहार गर्दा नगर प्रहरी सन्तबहादुर केसी घाइते भएका हुन्। उनको सोमबार शल्यक्रिया भएको छ।
महानगरपालिकाको १८ कात्तिकको कार्यपालिका बैठकले २८ जना करारका कर्मचारी हटाउने निर्णय गरेपछि सुरु भएको विरोधका क्रममा केसीमाथि आक्रमण भएको हो। कार्यपालिका बैठकले लोकसेवामार्फत सिफारिस भएर आइसकेका प्राविधिक पदमा कार्यरत प्राविधिकलाई कात्तिकसम्मको सेवा सुविधा दिएर बिदाइ गर्ने निर्णय गरेको थियो।
यो वैठकमा एमालेका जनप्रतिनिधिलाई भने राखिएको थिएन। कांग्रेसका २१ र स्वतन्त्र एक जना वडाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यले एमालेबाहेकै बैठक बसेर २८ जना प्राविधिलाई तिहारलगत्तै बिदा गर्ने, ५ जना शिक्षिका र २ जना परिचालिकालाई कार्यालय सहयोगीमा काम गर्न दिने नत्र बिदाइ गर्ने निर्णय गरेको थियो।
यो निर्णयमा एमाले निकटका जनप्रतिनिधिले असहमति जनाउँदै आएका छन्। उनीहरुले ती प्राविधिकलाई पुससम्मै सेवा गर्न दिनुपर्ने, काजमा कार्यरत कर्मचारीलाई फिर्ता गर्नुपर्ने, त्यतिन्जेल पोखरा महानगरका कर्मचारीहरुको संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गर्न माग गरेरका छन्।
तर, माग सुनुवाई नभएपछि एमाले निकटका जनप्रतिनिधि र कर्मचारीले आन्दोलन सुरु गरे। मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङ भने विदेश भ्रमणमा हिँडे। मेयर र उपमेयर नै नभएको बेला आन्दोलनरत जनप्रतिनिधि मेयरको कार्यकक्षमा जान खोजेपछि केसीले रोक्न खोजे। त्यसैक्रममा उनको अण्डकोषमा प्रहार भएको हो।
एमाले जनप्रतिनिधिले भने धकेलाधकेल हुँदा घट्ना भएकाले आपसमै मिल्न प्रयास गरिरहेका छन्। मेयर आचार्यले घट्ना दुखद् भएको बताए।