पति मरेपछि परपुरुषसँगको सम्वन्धबाट जन्मिएको नवजात शिशु झाडीमा फालेर भागेकी किशोरी पक्राउ

काठमाडौँ– पतिको मृत्यु भएपछि परपुरुषसँगको सम्वन्धबाट जन्मेको नवजात शिशुलाई मकवानपुरको झाडीमा फालेर भागेकी एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुर प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–६ घर भई काठमाडौं बस्ने मेनुका धिताल (२८) लाई पक्राउ गरेको हो। उनले आफनो १० दिनको शिशु झाडीमा फालेर भागेको प्रहरीले जनाएको छ।

बुधबार साँझ मकवानपुरको थाहा नगरपालिका–४ शिखरकोटस्थित सार्वजनिक शौचालयनजिकै झाडीमा नवजात शिशु भेटिएको थियो। झाडीमा बच्चा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो।

इलाका प्रहरी कार्यालय कार्यालय पालुङको टोली घटनास्थल पुगेर नाबालकको उद्धार गरेको थियो। त्यसपछि आमाको खोजतलास गर्ने क्रममा मेनुका पक्राउ परेकी हुन। उनले शिशु आफनै भएको स्विकारेकी छिन्।

सानै उमेरमा विवाह गरेकी उनको श्रीमान्को ४ वर्षअघि गाडी दुर्घटनामा मृत्यु भएको थियो। दुई सन्तानकी आमा मेनुकाले तेस्रो सन्तानका रूपमा उक्त शिशु जन्माएकी थिइन्। तर, अन्तिम शिशु उनको पतितर्फको नभएको मेनुकाले बयान दिएकी छिन्।

उनका अनुसार केही वर्षअघिदेखि फेसबुकमार्फत एक जना पुरुषसँग उनको चिनजान भएको थियो। उनीहरु प्रेम सम्वन्धमा थिए। तिनै पुरुषसँगको शारीरिक सम्पर्कबाट मेनुकाको पेटमा गर्भ रह्यो। त्यो थाहा पाएपछि ती पुरुषले मेनुकालाई फेसबुकमा ब्लक गरेर सम्पर्कविहिन भए।

गर्भमा भएको वच्चा १० दिनअघि जन्मियो। सुत्केरी भएपछि पालुङमा रहेको आफ्नी दिदीको घर आएकी मेनुकाले त्यही मौकामा शिशु छोडेर भागेको खुलेको छ। ‘श्रीमान् नभएको मान्छेले बच्चा जन्माई भनेर घरबाट हेला गरेपछि दिदीको घर आएकी थिएँ। दिदीसँगको सल्लाहमा शिशुलाई झाडीमा फालेको हो’– उनले प्रहरीसँग भनेकी छिन्।

अहिले शिशुलाई मेनुकाको जिम्मा लगाइएको छ। मेनुकालाई धोका दिएर सम्पर्कविहिन भएका युवकको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय पालुङका इन्स्पेक्टर सबिनबाबु अर्यालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट