बेल्टारमा राष्ट्र बैंकको गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, कार्यकारी निर्देशकको परिवारै थियो कारमा
राजविराज– उदयपुरको चौदण्डीगढी नगरपालिका–६, सातधारेस्थित सशस्त्र प्रहरी बल बेसक्याम्प अगाडि शुक्रबार मोटरसाईकललाई ठक्कर दिने हुण्डाई क्रेटा कारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र उनको परिवार सवार रहेको खुलेको छ।
घिमिरेको नाममा बैंकले उपलब्ध गराएको बागमती प्रदेश ०२६च ५०६२ नम्बरको कारले बेल्टार बजार नजिकै रहेको द्वारखोला पुल छेउमा प्रदेश १ प ८८४९ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा चौदण्डिगढी नगरपालिका–२, माडीबासका तिलक राई (४३) को घट्नास्थलमै मृत्यु भएको थियो। राई मोटरसाईकलमा बेल्टारबाट गाईघाटतर्फ थिए।
स्रोतका अनुसार काठमाडौंको धुम्बाराही घर भएका घिमिरे तिहार मनाउन परिवारसहित बैंकको गाडीमा झापा हिँडेका थिए। गाडीमा उनका श्रीमती र छोराछोरीसमेत थिए। कारको ठक्करबाट मोटरसाईकलको पछाडि वसेका माडिवासकै शरण राई (३१) घाईते भएका छन्। उनको विराटनगरस्थित न्युरो हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको इलाका प्रहरी कार्यालय वेल्टारले जनाएको छ।
प्रहरीले कारका चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–३ का बासुदेव सापकोटा (५६) लाई नियन्त्रणमा लिएको छ भने घिमिरे परिवारलाई हिजो राति नै झापा पठाएको छ।