आज काग तिहार, कागका बारेमा तपाईलाई थाहा नहुन पनि सक्छन् यी तथ्य

काठमाडौँ– आज, कार्तिक कृष्ण त्रयोदशी अर्थात काग तिहार। बिहानैदेखि यमराजको दूतका रुपमा कागको पुजा गरिँदैछ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको छ। यसैगरी, लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ।

तर, बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रअनुसार बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले ‘यमराजसमक्ष राम्रो खबर लगिदियोस्’ भनेर कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ। लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।

कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने मान्यता छ। कागसम्बन्धी अनेक रोचक तथ्य छन्, जुन धेरैलाई जानकारी नहुन सक्छ।

चिम्पान्जीको जत्रै मस्तिष्क
काग बुद्धिमान र चतुर चरा हो। तर, यसलाई धेरैले गलत रुपमा लिने गरेका छन्। लोककथामा कागलाई मान्छेले शताब्दीऔंदेखि चोर, बद्मास, भगवानको सल्लाहकार वा देवता भनेर चिनेका छन्। कागको मस्तिष्क शरीरको आकारको अनुपात चराको होइन बाँदरको जत्रो हुन्छ। करेन्ट बायोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार कागको मस्तिष्क तुलनात्मक रुपमा चिम्पान्जीको जत्रै हुन्छ।

खाना चोर्न सिपालु, आफ्नो लागि औजार पनि बनाउँछन्
काग खानेकुरा जोहो गर्ने कुरामा सिपालु र सृजनशील हुन्छ। अमेरिकी कागले आफ्नो आहारको लागि आफैं माछा समात्छन्। माछालाई आकर्षित गर्न चारो हाल्ने काम समेत गर्छन। कागले अरु जनावरहरूको खाना चोर्छन। कागले खानाको जोगाड गर्न प्राकृतिक रुपमा पाइने छेस्का (औजार) को पनि प्रयोग गर्छन्। केही प्रयोगमा यी कागहरूले बल्छी बनाउन लचिलो वस्तुलाई दोबारेर प्रयोग पनि गरेको पाइएको छ। केही अनुसन्धानमा कागले सानो छेस्काले तानेर ठूलो छेस्का हात पारेको देखिएको छ। कामै नलाग्ने दुई वा सोभन्दा बढी वस्तुबाट नयाँ हतियार बनाएको पनि पाइएको छ।

मान्छेको ५ देखि ७ वर्षको बच्चाको जत्तिकै वुद्धि/मृतकको अन्त्येष्ठी
हामीले सानैदेखि कागले घैंटोको पिँधमा भएको पानी ढुङ्गा हाल्दै–हाल्दै माथि ल्याएर पिएको कुथा सुन्दा आएका छौं। वास्तवमा यो कथा मात्र होईन, अनुसन्धानले पनि कागले यस्तो गर्न सक्छ भनेर पूष्टि गरेको छ। अनुशन्धान अनुसार कागमा मान्छेको ५ देखि ७ वर्षको बच्चामा जत्तिकै बुद्धि हुन्छ। ‘इन्साइड द एनिमल माइन्ड’ भन्ने बीबीसीको सिरिजमा कागले आठ चरणको पहेली समाधान गरेको थियो। आफ्नो औजार कसरी प्रयोग गर्ने भन्ने कुरा पनि कागले योजना बनाउन सक्छ भनेर करेन्ट जर्नलमा छापिएको एक अध्ययनले देखाएको छ। यतिमात्रै होईन, कागले मान्छे जस्तै मृतकको अन्त्येष्ठी समेत गर्छन। कुनै कागको मृत्यु भएमा एक्लै वा समूहमा कागले मृतक कागको मृत्यु संस्कार गर्छन।

आफ्नै भाषा, आफुले पाएको जानकारी अरुलाई पनि भन्छन
कागको बोलीचालीको आफ्नै भाषा हुन्छ। कम्पनी अफ क्रो एन्ड राभेन्सका लेखक ओर्निथोलोजिष्ट जोन एम. मर्जलफ र टोनी एङ्गेलका अनुसार क्षेत्रअनुसार कागको भाषा पनि फरक हुन्छ। उपत्यकै पिच्छे कागको बोलीचाली फरक हुन सक्छ। कागले कहिलेकाहीँ आफ्नो झुन्ड फेर्छ। तर, त्यसका लागि उसले नयाँ झुण्डको भाषा सिक्छ। नयाँ झुन्डमा मिसियो भने नक्कल गरेर कागले त्यो झण्डको भाषा सिक्ने मर्जलफ र एङ्गेलले पुस्तकमा उल्लेख छ।

कतिपय कागले मान्छेको अनुहार चिन्छन्। कागका यस्ता केही गुण अनुशन्धानबाट पत्ता लागेका हुन। अनुसन्धानका लागि जालमा पारेको वा समातेको कागले खासगरी यस्तो खालको द्वेष राख्ने गरेको थाहा पाएपछि वाशिङ्गटन विश्वविद्यालयमा वन्यजन्तु विज्ञानका प्राध्यापक जोन मार्जलफलेको समूहले यसबारे थप परीक्षण गरेको थिया। अध्ययनमा जंगली मान्छेको मुखौटा लगाएका थिए। तर पनि कागले आफ्नो शत्रुलाई चिनेको थियो।

पछिल्लो परीक्षणमा अनुसन्धानकर्ताहरूले मास्क लगाएर मृत काग समातेका थिए। भविष्यमा कागले त्यस्तै खालको मास्क लगाउनेको खेदो गरेको पाइयो। खास गरी कागले पूरै शरीरलाई भन्दा पनि अनुहारलाई मात्रै ध्यान दिएको मार्जलफले भनेका छन्। वर्षमा एक दुई पटक केही घन्टाका लागि मात्रै मास्क लगाएको मान्छे देखेपनि कागले त्यो अनुहार याद गरेर राखेको थियो। केही वर्षभित्र जंगली मान्छेको मास्क लगाएको मान्छे नजिक पर्दा कराउने चिच्याउने वा गाली गर्ने कागको संख्या बढ्दै गयो।

सात वर्षमा यो संख्या दोब्बर भयो। यसको अर्थ एउटा कागले आफूले पाएको जानकारी परिवारका सदस्य वा अन्य साथी कागलाई भन्ने गरेका थिए। ‘जंगली मान्छेको मास्क लगाउनेले समातेका अधिकांश काग मरिसकेका थिए’ सन् २०१६ मा एउटा पत्रिकामा क्याट म्याकगोवानले लेखेका थिए।

आजीवन एउटैको भएर बस्छन
काग सामाजिक चरा हो। एक पटक कुनै कागिनीको संसर्गमा आएको काग आजिवन उसकै भएर बस्छ। तर, कतिपय काग बहुगामी वा असभ्य भएको पनि देखिएको छ। केही कागले दोहोर जीवन पनि बाँच्ने कोर्नल ल्याब अफ ओर्निथोलोजीले बताएको छ। परिवारका बीचमा समय छुट्टाएर कागले दुई वटा जीवन जिउन सक्छ।

अमेरिकी कागहरूले बसन्तको शुरुमै गुड बनाउन थाल्छन्। कसैले आफूलाई नियालिरहेको छ भन्ने लाग्यो भने तिनीहरूले नक्कली गुँड पनि बनाउँछन्। साना कागहरू शुरुका केही महिना अभिभावकमा निर्भर रहन्छन्। तर बाउआमाको गुँडबाट अन्यत्र सरेपनि लामो समयसम्म यिनीहरू परिवारको नजिकमा बस्छन्। विस्तारै यिनीहरू झुन्डमा मिसिन्छन्। आफ्नो पार्टनर भेट्नु भन्दा अगावै आफ्नो छुट्टै ठाउँ बनाउँछन्। कहिलेकाँही घरमै बसेर सहायकको रुपमा बाआमाका नयाँ साना चल्लालाई सघाउने काम पनि गर्छन। केही वर्षसम्म यिनीहरूले बाउआमालाई साना बच्चा हुर्काउन सघाउँने अध्ययनले देखाएको छ। कागको एउटा परिवारमा १५ जनासम्म हुन सक्छ। यसमा पाँच फरक फरक वर्षका बच्चाहरू पनि हुन सक्छन्। यस्तो किन हुन्छ भन्ने चाँहि स्पष्ट नभएको अध्ययनमा देखिएको छ।

कहिलेकाँही किसानको खेतबारीमा हमला पनि गर्छन
कागहरू निकै बाठा हुन्छन्। कागले कहिलेकाँही किसानको खेतबारी र बगैँचामा हमला पनि गर्छ। तर किटाणु वा किरालाई खाएर वा बिउ छरेर वातावरणमा पुर्याउने लाभले यिनीहरूले गर्ने क्षतिको भर्पाई गरिदिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट