पालिकाको लेटरप्याड र छाप किर्ते गरी प्रअले बैंकबाट निकाले २० लाख, पालिकाले प्रहरीमा दियो उजुरी
जनकपुर– रौतहटको चन्द्रपुर नगरपालिका–५, राजपैडास्थित आधारभूत विद्यालयका प्रधानाध्यापक किशोरी चौधरीले पालिकाको लेटरप्याड, दस्तखत र छाप किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकालेर हिनामिना गरेको खुलासा भएको छ।
विद्यालयको ४ कोठे भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगले विशेष अनुदानको रूपमा नगरपालिकालाई ५० लाख रुपैयाँ निकासा दिएको थियो। राष्ट्रिय वाणिज्य बैंकमा रहेको विद्यालयको खातामा (खाता नम्बर १९७७१०००००२६८००१) जम्मा भएको उक्त रकम नगरपालिकाले रोक्का राखेको थियो।
विद्यालय भवन निर्माणका लागि भवन निर्माणको कामको भुक्तानी विद्यालयबाटै हुने गरी नगरपालिकाले व्यवस्था मिलाए पनि रकम हिनामिना हुने आशंकामा नगरपालिकाले उक्त रकम रोक्का राख्यो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बैंकलाई पत्र पठाई सबै रकम रोक्का राखेका थिए।
तर, प्रधानाध्यापक चौधरीले नक्कली फुकुवा पत्र बनाई उक्त रकम मध्ये २० लाख रुपैयाँ निकालेर हिनामिना गरेको खुलेपछि गैरकानुनी कामको छानबिन र कारबाहीका लागि सोमबार नगरपालिकाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई पत्राचार गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीका अनुसार भवन निर्माणको ठेक्का चन्द्रपुर–१ स्थित ब्रह्मबाबा कन्स्ट्रक्सनले लिएको थियो। भवन निर्माणको काम गत १५ असारमा सम्पन्न भईसकेको छ। त्यस वापत नगरपालिकाले नै बैंकमा फुकुवाको पत्राचार गरेर ११ पुस ०८० मा पहिलो किस्ताको २० लाख १० हजार ५ सय २९ रुपैयाँ र दोस्रो किस्ताको १० लाख रुपैयाँ भुक्तानी दिईयो।
तर, अन्तिम किस्ताको रकम भुक्तानी दिन प्रधानाध्यापक चौधरीले आनाकानी गरे। काम सम्पन्न हुँदा पनि भुक्तानी नपाएपछि ठेकेदार विनोद कार्कीले नगरपालिका गुहारो। शिक्षा अधिकारी दीपेन्द्र मण्डलले समन्वय गर्दा पनि चौधरीले भुक्तानी दिन चासो देखाएनन्। त्यसपछि जानकारी लिँने क्रममा १८ पुस ०८० मै रकम निकालेर निजी प्रयोजनमा खर्च गरेको पाइएको तिवारीले वताए।
निर्माण कार्यको रनिङ बिलको रकम दुई पटक भुक्तानी गर्दा कट्टा भएको मूल्य अभिवृद्धिकर ३ लाख ३८ हजार ४ सय ७३ रुपैयाँसमेत आन्तरिक राजस्व कार्यालयमा जम्मा नगरी प्रधानाध्यापक चौधरी अपचलन गरेको नगरपालिकाले जनाएको छ।
प्रधानाध्यापक चौधरीले भने आफुले कुनै किर्ते काम नगरेको र रकम हिनामिना नगरेको दावी गरेका छन्। उक्त पत्र नगरपालिकाले नै फुकुवा गरेको उनको दावी छ।