एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा, चाईनाको कम्पनीलाई छपाईको जिम्मा
काठमाडौँ– संविधान संशोधनमार्फत लिम्पियाधुरासहितको नक्सा जारी भएको करिब ४ वर्षपछि १ सयका नोटमा पूर्ण (चुच्चे) नक्सा समेटिने भएको छ। नेपाल राष्ट्र बैंकले पहिलो पटक नोटमा पूर्ण नक्सा समावेश गर्न लागेको हो।
संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर ३१ जेठ ०७७ नेपालको नयाँ चुच्चे नक्सा पारित भएको थियो भने ४ असारमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो। सोही नक्सालाई राष्ट्र बैंकले नोटमा समावेश गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकले नोटको डिजाइनको निर्णय गर्ने समितिको निर्णयअनुसार पहिलो पटक डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गर्न लागेको जानकारी दिएको छ। ग्लोबल टेन्डरमा नोट छपाइको ठेक्का चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको छ।
१ सय रुपैयाँ दरको नोट ३० करोड थान बराबर डिजाइन, मुद्रण, आपूर्ति र वितरणका लागि ठेक्का प्रदान गर्न आशयपत्र जारी गरेको वैंकले जनाएको छ। राष्ट्र बैंककाअनुसार बोलपत्रदाताहरूबाट न्यूनतम मूल्यांकन गरी चीनको सो कम्पनीलाई ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलरमा उक्त परिमाणको नोट छापेर उपलब्ध गराउने सबै जिम्मा दिइएको हो।
सम्झौता भएको उक्त अमेरिकी डलरलाई आइतबारकोे विनिमय बिक्रीदर प्रतिडलर १३४ रुपैयाँ ८४ पैसामा हिसाब गर्दा कुल १ अर्ब २१ करोड ३१ लाख ४६५ रुपैयाँ २८ पैसामा नोट छापिने अनुमान छ। सय रुपैयाँ दरको एउटा नोट छाप्न करीब ४ रुपैयाँ ०४ पैसा लागत पर्न जाने देखिएको छ।