पिङमा गएका ८ र १४ वर्षका बालिका बलात्कार गरेको आरोपमा सशस्त्रका २ सहायक हवल्दार पक्राउ
काठमाडौँ– दशैंको बेला पिङ खेल्न गएका ८ र १४ वर्षका २ बालिकालाई बलात्कार गरेको आरोपमा दाङ देउखुरीको भालुवाङस्थित सशस्त्र प्रहरीको २९ नम्बर ज्वालामाई गणका २ जना सहायक हवल्दार पक्राउ परेका छन्।
दशैंको फूलपातीका दिन (२४ असोजमा) पिङ खेल्न पुगेका ती बालिकालाई बलात्कार गरेको खुलेपछि सशस्त्रका सहायक हवल्दार भरत रोकामगर र रेवन पचभैया मगरलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। यद्यपी स्थानीय प्रशासनले उनीहरुको नाम आधिकारिक रुपमा पुष्टि गरेको छैन।
घटनामा सशस्त्र प्रहरी नै संलग्न भएको सूचना पाएपछि बुधबार स्थानीयले गणको कार्यालय घेराउ गरेका थिए। यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक–पटक आफन्तहरुले गणका एसपी रमेश थापालाई उजुरी गरका थिए। तर, उनीहरुको उजुरीको सुनुवाई भएको थिएन।
त्यसपछि घटना लुकाउन खोजेको भन्दै स्थानीयले लगातार आन्दोलन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले घटनामा संलग्न आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको बताए।