वालुवाटारमा ओलीको गुनासोः ‘आज म मरेँ, मेरो दाहसंस्कार गरियो, मलामी फर्कंदै होलान’

काठमाडौँ– सरकारले सुशासनको उपहास गरेको ठहर गर्दै सोमबार साँझ विपक्षी दलका नेताहरुले सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा ज्ञापनपत्र बुझाए। त्यसै बेला प्रधानमन्त्री ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भनाभन भएको खुलेको छ।

ज्ञापन पत्र वुझाउन गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछानेको विषय कोट्याएपछि ओली र नेपालबीच भनाभन भएको हो। खास गरी शुक्रबार पक्राउ पर्नुअघि रविले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भीडीओ सन्देशका कारण उनीहरुबीच भनाभन भएको जनाईको छ।

रविले ‘सरकार म¥यो, हामीलाई जुठो प¥यो’ भन्दै जारी गरेको भिडियो सन्देशका कारण प्रधानमन्त्री ओली रुष्ट थिए। यति मात्रै होईन लामिछानेले ओलीमाथि एकमाथि अर्को आरोप लगाएका थिए। ओलीले ‘तस्करले दिएको तीन करोडको घडी हातमा लगाएर आफ्नो हातमा हतकडी लगाएको’, ‘विचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाएको’ ‘प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिएको तर, ठगीको आरोप आफुलाई लगाएको’ भन्दै आक्रोश ब्यक्त गरेका थिए।

‘तिमीहरु राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ, अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?’ भन्दै उनले ओलीसँग प्रश्न गरेका थिए। ‘तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?’ भन्दै आक्रोश पोखेको विषयले ओली भित्रभित्रै मुर्मुरिएका थिए।

प्रसंगबस दाहालले लामिछानेको गिरफ्तारीको सन्दर्भ कोट्याए, ओलीले लामिछानेप्रतिको आक्रोश पोखी हाले। ‘आज म मरेँ, मेरो दाहसंस्कार गरियो, मलामी फर्कंदै होलान। को–को किरिया बसे? म पनि किरिया बस्न जानुपर्ने हो कि?’ भन्दै ओलीले आक्रोस देखाए। लामिछानेको भनाईलाई संस्कारहीन करार गर्दै ओलीले प्रश्न गरे–‘यो के संस्कार हो?’

ओलीको आक्रोश भुईँमा खस्न नपाउँदै माधव नेपालले जवाफ फर्काए–‘राजनीतिमा यस्तो संस्कार अरुले होइन, तपाईंले नै सिकाएको हो।’ उनले बाढी–पहिरो लगायतका अनेक समस्या देखिँदा पनि सरकारले सर्वदलीय बैठक नबोलाएकोमा ओलीको झाँको झारे। यो विषयमा दाहालले पनि नेपाललाई साथ दिएको स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट