मोरङको एसपीका लागि हानाथाप, राजनीतिक दाउपेचले २ दिनमै तुहियो प्रहरी हेडक्वाटरको सरुवा

विराटनगर– मोरङ प्रहरी प्रमुखका लागि प्रहरी अधिकृतको हानाथाप र उनीहरुले प्रयोग गरेको राजनीतिक दाउपेचका कारण प्रहरी हेडक्वाटरको निर्णय दुई दिनमै तुहिएको छ।

राजनीतिक दबाब थेग्न नसकेको प्रहरी हेडक्वाटरले यसअघि मोरङ पठाएका प्रहरी अधिकृतलाई रोकेर अर्कै ब्यक्तिलाई प्रहरी प्रमुख बनाएर पठाउने निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको पछिल्लो निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय, मोरङको नयाँ प्रमुखमा नारायण चिमरियाको सरुवा गरिएको छ। गएको शुक्रबार प्रहरी प्रधान कार्यालयले मोरङमा एसपी राजन लिम्बूलाई पठाउने निर्णय गरेको थियो।

तर, सोमबारसम्म आईपुग्दा लिम्बूको काज सरुवा रद्द गर्दै फेरि एसपी नारायणप्रसाद चिमरियालाई पठाउने निर्णय गरिएको जनाईएको छ। लिम्बू यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहिसकेका प्रहरी अधिकृत हुन्।

उनी ताप्लेजुङको इन्चार्ज हुँदा भदौ ०८० मा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामसँग लफडा परेको थियो। उनलाई हाङगामले मार्ने धम्की दिएका थिए। त्यसबेलादेखि नै उनीसँग कोशी प्रदेशको कांग्रेस नेतृत्व असन्तुष्ट छ।

प्रहरी अधिकृतहरुको दाबी अनुसार, सत्तारुढ नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले गृहमन्त्री रमेश लेखकसँग असहमति जनाएपछि लिम्बूको सरुवा रद्द भएको हो। उनको ठाउँमा चिमरियालाई पठाइएको हो।

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने लिम्बू व्यक्तिगत कारणले जान नसक्ने भएपछि अर्को सरुवा गरिएको बताए। मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की अनलाईन जुवा कारोवारीसँग लेनदेन गरेको विषयमा विवादमा मुछिएपछि एक सताअघि हेडक्वाटर तानिएका थिए। उनीसहित अन्य ४ जना प्रहरीमाथि कोशी प्रदेश प्रहरी कार्यालयले आन्तरिक छानबिन गरिरहेको छ। कार्की २ फागुन २०८० मा मोरङ गएका थिए।

चिमरिया भने सुनसरीस्थित दङ्गा नियन्त्रण गणमा कार्यरत थिए। चिमरिया प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा स्थानीय हुन्। उनी पनि प्रहरी भित्र एमालेप्रति उदार अधिकृत मानिन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट