मकवानपुरमा पतिले नै अन्य युवा बोलाएर श्रीमतीमाथि गराए सामूहिक बलात्कार

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिका–५ की ३१ वर्षीया एक महिलालाई पतिले नै अन्य युवा बोलाएर सामुहिक बलात्कार गराएका छन्। पीडितका पतिलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य २ युवा फरार भएका छन्।

३० असोजको बेलुका घरमै युवतीमाथि सामूहिक बलात्कार भएको हो। उनले १ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी छिन। उजुरीको आधारमा प्रहरीले पतिलाई पक्राउ गरेको हो। अन्य दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बलात्कृत महिलाले तीन वर्षअघि अर्को पुरुषसँग सम्बन्ध विच्छेद गरी अहिलेका पतिसँग विवाह गरेको खुलेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा बलात्कारका दोषीलाई कठोर सजायको व्यवस्था गरिएको छ।

१० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार भए जन्मकैदको सजाय हुने व्यवस्था छ भने १० वर्षदेखि १४ वर्षसम्मकालाई बलात्कार गरे १८ देखि २० वर्षसम्म कैद, १४ देखि १६ वर्षसम्मका किशोरीलाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद, १६ देखि १८ वर्षकालाई बलात्कार गरेमा १० देखि १२ वर्षसम्म कैद र १८ वर्षमाथिकालाई बलात्कार गरे ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पनि पत्नीलाई बलात्कार गरे ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था कानुनी ब्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट