खनारकी मेनुका दाहालको मृत्यु प्रकरणमा पति र जेठानीलाई थुनामा राख्न अदालतको आदेश

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका–१३, खनारकी मेनुका दाहालको शङ्कास्पद मृत्यु प्रकरणमा पक्राउ परेका मृतकका पति र जेठानीलाई सुनसरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश नवराज कार्कीको शुक्रबारको इजलासले मृतकका पति ईश्वर बराल र जेठानी गीता बराललाई कारागारमा राखी पुर्पक्ष गर्न आदेश दिएको हो। जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले श्रीमान् र जेठानीको मिलेमतोमा मेनुकाको हत्या भएको अभियोगसहित उनीहरुलाई कारागारमै राखेर पुर्पक्ष गर्न माग गरेको थियो।

सहन्यायाधिवक्ता रोहितकुमार पोख्रेलले मृतक मेनुका दाहाललाई कर्तव्य गरी मारेर झुण्ड्याइएको र प्रमाण लुकाई आफूहरू बच्ने उद्देश्यले उनीहरूले नै विराट टिचिङ अस्पताल विराटनगर पुर्याएको देखिएकाले अभियुक्तहरूलाई थुनामुक्त गर्न नहुने जिकिर गरेका थिए। अभियोगपत्रमा अभियुक्त देवरभाउजूको बयान हुबहु भएको तर अदालती बयान नमिलेको पाइएको छ।

वादीका तर्फबाट बहस गर्ने अन्य कानून व्यवसायीहरू वरिष्ठ अधिवक्ता वीरेन्द्र बस्नेत तथा अधिवक्ताद्वय गणेशप्रसाद पोखरेल र शिव चौहानले प्रतिवादीद्वय ईश्वर बराल र गीता बराललाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ बमोजिम जन्मकैदको सजाय दिनुपर्ने मागदाबी गर्दै उनीहरूलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्नेमा जोड दिए।

प्रतिवादी पक्षका अधिवक्ताहरूले भने मृतक मेनुका दाहालले आत्महत्या गरेको तर्क गर्दै अभियुक्तद्वयलाई थुनामुक्त गरी सामान्य तारेखमा रिहा गर्न माग गरेका थिए।

गत २९ भदौको राति करीब १० बजे मेनुकाको घरमै रहस्यमय मृत्यु भएको थियो। माइती पक्षले उनको हत्या भएको दावी गर्दै इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएका थिए। जाहेरी दिएको ५ दिनसम्म प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गर्न इन्कार गरेको थियो। डीएसपी टेकबहादुर कार्कीको सरुवा भएपछि इन्स्पेक्टर महेन्द्र पराजुलीले घट्ना अनुसन्धानको नेतृत्व लिए। चौतर्फी दबाबपछि मुद्दा पनि दर्ता भएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट