चीन भ्रमणका क्रममा हर्टएट्याक भएर अस्पताल भर्ना भएका गृहमन्त्री बोल्न सक्ने भए, अप्रेसनपछि खतरामुक्त
काठमाडौं– चीन भ्रमणका क्रममा माईल्ड हर्टएट्याएक आएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बोल्न सक्ने भएका छन्।
हाल बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई गएराति अचानक हर्टएट्याक भएको हो। राति नै उनलाई त्यहाँस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको र शल्यक्रिया (अपरेसन) गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन।
उनले श्रेष्ठ हाल खतरामुक्त रहेको पनि बताईन। बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा गृहमन्त्री श्रेष्ठ हाल बोल्नसक्ने अवस्थामा आएको जानकारी दिएकी हुन्।
‘बेइजिङस्थित अस्पतालमा अपरेसन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ’, उनले भनिन्, ‘केही दिन उहाँ उतै रहनु हुनेछ। ’
बीआरआई सम्मेलनमा भाग लिन तीन दिनअघि चीन पुगेका गृहमन्त्री श्रेष्ठ शुक्रबार नेपाल फर्किने कार्यक्रम थियो। तर बिरामी भएका कारण अब उनी केही दिन उतै बस्ने सरकारको भनाइ छ।