सप्तरीका मिटरब्याजी रामदेव साहको परिवारका ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी

राजविराज– सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका मिटरब्याजी रामदेव साहु तेलीसहित एकै परिवारका ७ जनाविरुद्ध सप्तरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा उनीहरु विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

अदालतका स्रेस्तेदार कृष्णप्रसाद अधिकारीका अनुसार रामदेवसहित उनकी श्रीमती शिवकुमारी देवी, छोराहरू नन्दकिशोर र विपिनकुमार, छोरी पुष्पा, नाति चन्दनकुमार र कैलाश विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

उनीहरूविरुद्ध १३ करोड ५५ लाख ७८ हजार ८२६ रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय मागदाबी गर्दै गत २३ साउनमा अदालतमा आरोपपत्र दायर भएको छ। आरोप पत्रमा परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर मिटरब्याजमा रकम असुल्नुका साथै जग्गासमेत कब्जा गरेको उल्लेख छ।

निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न रहेको अभियोग छ। प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र उनकी दिदी अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले २२ असार ०७९ मा दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। पछि (२७ साउन ०८१) सर्वोच्च अदालतको आदेशानुसार उनीहरु जनही ५० लाख रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन्। रामदेवसहित अन्य ७ जना अझै फरार छन्।

ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, पुष्पा, नाति चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साहविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए।


प्रतिक्रिया

One thought on “सप्तरीका मिटरब्याजी रामदेव साहको परिवारका ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट